PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सीभी बनाउन नेपाली लिगको मोह, लकडाउनले ठमेलमै थुनिएका वम्बा भन्छन् : नेपालीले पनि क्यामरुनको लिग खेल्न सक्छन्



मुकुन्द घिमिरे

सीभी बनाउन नेपाली लिगको मोह, लकडाउनले ठमेलमै थुनिएका वम्बा भन्छन् : नेपालीले पनि क्यामरुनको लिग खेल्न सक्छन्

काठमाडौं : क्यामरुनका २२ वर्षे खेलाडी ड्याडी वम्बाले गएको सिजनमा शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबबाट खेले। उनी जस्तै धेरै खेलाडीहरु ए डिभिजन लिगको प्रतिस्पर्धाका लागि अफ्रिकाका विभिन्न देशहरुबाट नेपाल आए। अझ भन्ने हो भने नेपालका हरेकजसो खेलमा तिनै आएका विदेशी खेलाडीको निर्णायक भूमिका रह्यो।

क्यामरुन अर्थात् फिफा वरीयतामा ५५ औं स्थानमा रहेको देश। अनि नेपाल १६२ औं स्थानमा। अझ उनको खास कुरा के छ भने वाम्बाले क्यामरुनको राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्, यू १७ उमेर समूहमा। त्यस्तै त्यहाँको माथिल्लो लिग पनि खेलिसकेका छन्।

तर, उनी किन नेपाल आए त?

‘फर सीभी,’ उनले जवाफ दिए।

उनी नेपाल आएको आफ्नो प्रोफाइल उच्च बनाउनका लागि रहेछ। यसबाट युरोपियन लिगमा अवसर मिलाउन सकियोस् भन्ने रणनीति उनको। अघिल्लो सिजन चाहिँ हिमालयन शेर्पा क्लबबाट खेलेका थिए उनले। ७ वर्षकै उमेर त्यहाँको सबैभन्दा ठूलो फुटबल एकेडेमी सबुनियाँबाट खेल्न थालेका उनी उमेर समूहमा खेल्दा ब्राजिलका मार्सेलो लगायतका खेलाडीहरुसँग पनि खेलेको मख्ख पर्दै सुनाउँछन्।

‘म यहाँ पैसाको लागि भन्दा पनि आफ्नो सीभी बनाउने गरी खेल्न आएको हुँ। यदि मैले क्यामरुनमै मात्र खेलिरहने हो भने धेरै अनुभव बनाउन सक्दिन,’ वम्बाले भने। उनले सार्डियो मानेको उदाहरण दिँदै अनुभव धेरै लिन सके करियरमा अघि बढ्न सकिने बताए।

‘क्यामरनमै रहने हो भने मैले धेरै अनुभव बटुल्न सक्ने थिइन। प्रिमियर लिग खेलिरहेका सार्डियो मानेलाई हेर्नुहोस् न उनले पनि धेरै लिगहरु खेलेर त्यहाँ पुगेका हुन्। मेरो पनि सपना त्यही हो,’ थोरैथोरै नेपाली पनि बुझ्ने उनले भने।

ए डिभिजन लिग सकिएको केही समयमै कोरोनाको महामारी फैलियो। लकडाउन भयो। अनि फेरि निषेधाज्ञा। मोफसलमा पनि खेलहरु हुन पाएन।

लकडाउन चलिरहँदा उनी ठमेलस्थित आफ्नै कोठामा भेटिन्छन्, उनका साथी लियोन्ससँग। लियोन्स चीनको दोस्रो डिभिजनको लिग खेलेर भर्खरै नेपाल आएका थिए र महामारी भइदियो। उनको अहिलेसम्म कुनै क्लबसँग करार भइसकेको छैन।

एन्फाले दुई चरणमा विदेशी खेलाडीलाई सामान्य सहयोग गरेको थियो। यद्यपि, उनले महामारी र लकडाउनले निम्ताएको उनीहरुको समस्याबारे खुल्न चाहेनन्।

त्यहाँको खेल र यहाँको खेल

क्यामरुनको फुटबलमा विभिन्न पक्षमा फरक रहेको उनले महसुस गरेका छन्। यद्यपि, पनि उनी मान्छन् : फुटबल खेल हो। खेलको न त निश्चित भुगोल हुन्छ, न त भाषा न जाति। खेलको भाषा खेल नै हुन्छ।

दुई सिजन शहीद स्मारक ए डिभिजन लिग खेलिसकेका उनी फिजिकल र कन्ट्याक्टमा अफ्रिकी फुटबल राम्रो हुने भए पनि टेक्निकल्ली नेपाली खेलाडीहरु राम्रो भएको उनले बुझेका छन्।

‘नेपाली खेलाडीहरुले अझै मेहेनत गर्नुपर्छ। यहाँका रेफ्रीहरु राम्रा छन्। धेरै टेक्निकल पनि छन् र अवसरहरु दिन्छन्। तर, सानासाना कन्ट्याक्टहरुलाई भने कन्सिडर गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने।

उनी फुटबललाई कन्ट्याक्टको खेल मान्छन्। अफ्रिकामा सामान्य कन्ट्याक्ट हुनुलाई सामान्य रुपमा हेरिए पनि यहाँ सामान्य टच हुनसाथ रेफ्रीले सिट्टी बजाइहाल्ने गरेको उनले अनुभव गरेका छन्।

‘नानीदेखि लागेको बानी’ भनेजस्तो उनलाई अलग्गै गेम खेल्न कठिन भएछ, सुरुमा। त्यसैले पनि होला उनलाई त्रिभुवन आर्मी क्लबको गेम मन पर्छ - आक्रामक खेल।

‘उनीहरुले टेक्निकल पनि खेल्छन्। फिजिकल पनि,’ उनले भने, ‘जीवन जोखिम हो। जसले जोखिम लिन सक्छ उसैले त खेल्छ।’

मोफसलमा पनि खेल्न गएका छन् उनी। मोफसलको कुरा गर्दैगर्दा उनी झापा र इलामको गोल्डकपको कुरा गर्दै गर्दा उत्साहीत हुन्छन्। एक त समर्थकहरुको साथ र अर्को नयाँ अनुभव।

उनलाई ती गोल्डकप मन पर्नुको कारण त्यहाँको माहोल पनि हो। जसरी क्यामरुनमा खेल हुँदैगर्दा दर्शकहरुले स्टेडियमभरी उपस्थित भएर साथ दिन्छन् त्यसरी नै भिड र उत्साह देख्छन् उनी मोफसलमा। जुन लिगका केही खेलमा मात्र देख्न सकिन्छ।

खैर, नयाँ ठाउँ, नयाँ भाषा र नयाँ परिवेश। सबैकुरा आखिर फरक छ। उनले आफ्नो देशमा बोल्ने भाषा भनेको फ्रेन्च। उनी अंग्रेजी राम्रो बोल्छन्। र, उनको खेल्ने पोजिसन मिडफिल्ड। मिडफिल्ड अर्थात् कोअर्डनेसन गराउनु पर्ने पोजिसन। कहिले काहीँ भाषाले पनि समस्या गराउँछ यसबेला। यद्यपि अवस्था हेरी खेलले आँफै समझदारी बनाउने उनी बताउँछन्।

‘भाषाले समस्या त गराउँछ। तर जब हामी मैदानभित्र हुन्छौं हाम्रो फुटबलको भाषा एउटै हुन्छ,’ उनले भने।

नेपाली खेलाडीले क्यामरुनमा खेलेको हेर्ने सपना

उनले एसियाका धेरै देशहरुमा खेले। त्यसमध्ये उनी नेपालमा ‘कम्फर्ट’ अनुभव गर्ने गरेको बताउँछन्।

‘म मेरो घरबाट धेरै टाढा छु। यहाँबाहेक एसियाका अरु देशहरुमा पनि बसेँ तर मलाई नेपालमा बस्न डर लाग्दैन,’ उनले भने, ‘यहाँ धेरै स्वतन्त्रता छ।’ त्यसैले त उनी फेरि एक सिजन नेपालमै खेल्ने मुडमा देखिन्छन्।

‘नेपालमा मेरा धेरै राम्रा साथीहरु छन्। मलाई उनीहरु राम्रो ब्यवाहार पनि गर्छन्। मेरो चाहना छ नेपाली खेलाडीहरु पनि मेरो देशमा यसरी नै खेलुन्,’ उनले भने।

अफ्रिकाबाट त नेपालमा धेरै खेलाडीहरु आएर खेल्छन् तर उनलाई लाग्छ नेपाली खेलाडीहरु पनि क्यामरुन गएर खेल्न सक्छन्। उनले नेपालमा केही धेरै सम्भावना भएका खेलाडीहरु पनि देखेका छन्। उनीहरुले चाहनु हो भने क्यामरुनमा खेल्न खासै ठूलो कुरा चाहिँ नभएको उनलाई लाग्छ।

नेपालको तुलनामा क्यामरुनमा खेलाडीहरु अभ्यासमा बढी जुट्ने गरेको उनले अनभुव गरेका छन्।

‘मेरो एउटा सपना छ कि नेपाली खेलाडीहरुले पनि क्यामरुन गएर खेलुन्। र, नेपाली खेलाडीले त्यहाँ गएर खेल्न सक्छन् पनि,’ उनले भने।

यसमा सोच बनाउने हो भने सम्भव रहेको उनको तर्क छ।

‘यहाँ मैले देखेको धेरै खेलाडीहरु क्यामरुन गएर खेल्न सक्छन्,’ उनको तर्क छ। उनले त्यसका लागि थ्री स्टार, मनाङ, संकटा लगायतका टिमका केही खेलाडीहरुले खेल्न सक्ने देखेका छन्।

खेलाडीले डरलाई हटाउनु पर्छ

उनको खेलको क्रममा महत्वपूर्ण मोटिभेसन हो, डरलाई हावी हुन नदिने। प्रतिद्वन्द्वी जोसुकै होस् आफू आफ्नो हिसाबले नडराइ खेल्नुपर्ने उनी बताउँछन्।

‘नेपाल आर्मीको खेल अफ्रिकाको जस्तै छ। उनीहरु बलिया पनि छन् र टेक्निकल पनि खेल्छन्। त्यसैले खेलहरु जित्छन्,’ उनले भने, ‘ए डिभिजन टिमहरु आर्मीको जस्तो खेल्ने हो भने धेरै राम्रो हुन सक्छ।’

अफ्रिकन खेलाडीहरुले अलि रफ गेम खेल्छन नि होइन र?

उनी उत्तर दिन्छन् : तेस्तो होइन, जब मैले ब्राजिलमा अभ्यास गर्ने मौका पाएको थिँए त्यतिबेला पनि नडराइ आफ्नो खेल खेलेको थिएँ। कन्फिडेन्सलाई डाउन हुन दिनु हुँदैन आफ्नो खेल खेल्नुपर्छ।

अन्तर्राष्ट्रिय फुटबलमा उनलाई मनपर्ने खेलाडी हुन् रोनाल्डो। अनि टिम चाहिँ लिभरपुल। युरोपियन फुटबलमा भइरहेका गतिविधिहरुलाई उनी नजिकबाट नियाल्दा रहेछन् विशेष गरी खेलाडी ट्रान्स्फरको सन्दर्भमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell