PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै, आज सीडीओहरुको भर्चुअल मिटिङ, गृहको निर्देशनसँगै फेरिनेछ मोडालिटी



सविन ढकाल

उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै, आज सीडीओहरुको भर्चुअल मिटिङ, गृहको निर्देशनसँगै फेरिनेछ मोडालिटी

काठमाडौं : करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ। लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो।

काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि (भदौ १७) गते राति १२ बजेबाट सकिँदैछ। अब थप गर्ने निषेधाज्ञामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा संचालन गर्दा हुनेभए संचालन गर्न समेत स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। तर, यसरी जोरबिजोर आधारमा सवारी चलाउने विषयमा भने तीन जिल्लाका प्रमुखबीच छलफल भइसकेको छैन।

'केही अनौपचारिक छलफल भएका छन्। तर, निषेध गरिएका केकेलाई खोल्ने केकेलाई नखोल्ने भन्ने निर्णय भएको छैन। भोलि सायद केही हुन्छ,' एक प्रमुख जिल्ला अधिकारीले भने, 'यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ। निषेध गरिएका केही क्षेत्रलाई संचालन गर्न दिने भन्ने छलफल भइसकको छ।'

अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, दुग्धजन्य पदार्थ साथै त्यसको प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन/स्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न दिइएको छैन।

'हामी भर्चुअल मिटिङ गरेर निर्णय सहित गृह मन्त्रालयलाई पठाउँछौं,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, 'गृहको सल्लाह अनुसार नै अबको निषेधाज्ञा कस्तो हुने भन्ने मोडालिटी तय हुनेछ।'

निषेधाज्ञाको पहिलो दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत कार्यालय आउन रोकतोक गरिएको थियो। त्यसपछि बैंकर एसोसियसनले कर्मचारीलाई अवरोध गरेपछि बैंक खोल्न समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेपछि प्रशासनले कर्मचरी कार्ड देखाएर कार्यालय आउन र जान दिने निर्णय गरेको थियो।

अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत संचालन गर्न दिने अनौपचारिक छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यकाभित्र संक्रमण फैलिने दर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुखहरुको बैठकले भदौ ३ गते राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो। पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell