काठमाडौं : झन्डै दुई सातादेखि काठमाडौं उपत्यकाभित्रका सडक सुनसान छ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सडक सुनसान देखिएको हु। सडकमा सुरक्षाकर्मीको उपस्थिति पनि पहिलेको तुलनामा कम छ। ड्युटीमा खटिएका प्रहरीमा नै कोभिड १९ को संक्रमण देखिनेक्रम बढ्दै गए पछि झनै समस्यामा छन् उनीहरु।
प्रहरीको अनुपस्थितिको फाइदा उठाउँदै सडकमा ट्राफिक नियम पालना नगर्ने सवारी चालकको पनि कमी छैन। त्यस्तै कतिले त ट्राफिक नियमको जानकरी नभएका कारण पनि ट्राफिक नियम पालना गरिरहेका छैनन्।
महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। महाशाखाले काठमाडौ उपत्यकाका विभिन्न स्थानका सडकको छेउमा २२ वटा काल्पनीक ट्राफिक प्रहरी (बुख्याचा) बनाएर राखेको छ। बुख्याचाको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ ।
'यो एउटा सचेतना हो। सवारी चालकले यस्तो सुचना देखिएमा म कारबाहीको भागिदार हुनसक्छु भन्ने लागेर नियम पालना गर्नुहुन्छ भन्ने हो,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
झन्डै ट्राफिक प्रहरी जस्तै देखिने गरी डमी बनाएर सडकमा राखिएको हो। टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख एसएसपी ढकालले बताए।
उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नुहुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन्।
यस्ता बुख्याचा सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, भद्रकाली, थापाथली, कालीमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएको छ।
त्यस्तै, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ। उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर बिजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिड्डुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू लेखिएका छन्।
