PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

सोनु सुदको प्रेरणा : सरकारको उपस्थिति बिना गाउँका आदिवासी युवाले बनाए सडक



पहिलोपोस्ट

सोनु सुदको प्रेरणा : सरकारको उपस्थिति बिना गाउँका आदिवासी युवाले बनाए सडक

बलिउड अभिनेता सोनु सुदले सिङ्गो गाउँका युवाहरूलाई प्रेरित गरे। ती युवाले गाउँमा सडक निर्माण गरे। त्यो पनि कुनै सरकारी अधिकारी र सहयोग बिना।

आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डल। त्यहाँको आदिवासी गाउँहरू कोडामा, चिन्तामाला, बारा, सिरीवारा ७० वर्षदेखि मुख्य सडकबाट पर छ। त्यहाँका स्थानीयहरू पुग्ने सबैभन्दा नजिकको प्राथमिक स्वास्थ्य केन्द्र नै ५ किलोमिटर टाढा। त्यो पनि हिँडेरै पुग्नु पर्ने।

कोडामा गाउँ समुद्र तहबाट करिव १ सय ५८ मीटरको उचाइमा छ।

त्यहाँबाट गर्भवती महिला र अन्य बिरामीलाई डोलीमा बोकेर अस्पताल पुर्‍याउनु पर्छ। यस्ता थुप्रै घटना छन् जहाँ बिरामी अस्पताल पुग्न पाउँदैनन्।

प्रजा चैतन्य वेदिका नामक गैरसरकारी संस्थकी अध्यक्ष कलिसेट्टी अपाला बताउँछन्,’प्राय बिरामीको बाटोमै निधन हुन्छ।‘ 

यही संस्थाले गाउँका युवालाई सडक निर्माणमा सहयोग पुर्‍यायो। उनीहरूले सरकारसँग पनि सहयोग मागेका थिए। गाउँका आदिवासी नेता मालाती डोरा भन्छन्,’सडक बनाउने विषयलाई लिएर सरकार समक्ष कयौं निवेदन पेश गर्‍यौं तर कुनै पनि सरकारी अधिकारीले सहयोगको कोशिश समेत गरेनन्।‘

त्यस पछि सुरु भयो गाउँलेहरूको स्वतन्त्र प्रयास।

कोडामा र चिन्तामाला गाउँमा करिव २सय ५० परिवार छन्। जसमध्ये प्रायको मुख्य व्यवसाय खेती किसानी हो।  

डोरा भन्छन्,’किसान भएर पनि यहाँका मानिसले स्मार्टफोनको प्रयोग थालें। फोनले फाइदा दिलायो। त्यहाँ भिडियोहरू हेरेर, पढेर गाउँका युवामा जागरुकता बढ्यो।‘

विशेषगरी बलिउड अभिनेता सोनु सुदबाट युवाहरू प्रभावित भएको बीबीसी हिन्दीमा जनाइएको छ। उनले लकडाउनको समय सक्रिय रहेर प्रवासी मजदुरका लागि सहयोग पुर्‍याए। नियमित खबरमा छाएका उनीबारे पढेरै युवाहरूले आफ्नो गाउँ आफै बनाउने अठोट लिएको बताउँछन् स्थानीय अपाला नायडू।

‘सुदलाई देखेर बनाएको योजनामा गाउँलेको साथ रह्यो। सबैले साथ दिए कसैले विरोध गरेनन्’, नायडूले भने। सबै मिलेर कुल २० लाख रुपैयाँ जम्मा भयो। क्षमता अनुरुप १ हजारदेखि २० हजारसम्म प्रत्येक परिवारले सहयोग गरे। करिव १० लाख रुपैयाँ त स्थानीय पसल सञ्चालक एवं व्यापारीले जुटाएका थिए।

आवश्यक थियो ३० लाख। बाँकी रकम जुटाउन महिलाहरूले आफ्ना गर गहना धितो राखे।

गाउँलेहरूले आन्ध्र प्रदेशको सिरिवारा, चिन्तामालादेखि ओडिशाको सबकुमारीसम्म पुग्नका लागि छ किलोमीटर र कोडामाबाट बारीसम्मका लागि पाँच किलोमीटर सडक बिस्तार गरेका हुन्।

यस सडक आरक्षित वन क्षेत्रमा पर्छ। त्यहाँ कुनै पनि किसिमको निर्माण सम्बन्धी कामका लागि वन अधिनियम संशोधन आवश्यक पर्छ। तर, सरकारी अधिकारीले गाउँलेको योजनामा सहयोग पुर्‍याउनुको साटो आउन सक्ने वाधा अड्चन बारे सुनाएर पठाए।

पटकपटक अपिल गर्दा पनि कुनै सहयोग नमिले पछि युवाहरूले पर्खिएनन्। दुई महिनामा योजना सफह ठहर्ने गरी काम गरे।

अभिनेता सोनु सुदले गाउँलेहरूको यस प्रयासको तारिफ गर्दै ट्वीट लेखेका छन्। आफू चाँडै उक्त गाउँ पुग्ने समेत जनाएका छन्।

आन्ध्र प्रदेश पञ्चायती राज इन्जीनियरिङ डिपार्टमेन्टको जुलाई सन् २०१८ को रिपोर्टका अनुसार प्रधानमन्त्री ग्रामीण सडक योजना अन्तर्गत राज्यको ग्रामीण क्षेत्रमा १४ हजार ५ य ६४ किलोमिटर सडक निर्माणको लक्ष्य थियो जसले १३ सय ९ वटा बस्ती जोड्छ। योजना अन्तर्गत ९० प्रतिशत काम पूरा भएपनि केही ग्रामिण बस्ती मुख्य सडकसँग जोडिन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell