PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?



मुकुन्द घिमिरे

पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?

काठमाडौं: कोभिड-१९ को महामारीका कारण कक्षा सञ्चालन र परीक्षाबारे अन्योलको अवस्था चलिरहँदा पूर्वाञ्चल विश्वविद्यालयले भर्चुअल विधिबाट परीक्षा लिने तयारी अघि बढाएको छ। भदौ १४ गते बसेको विश्वविद्यालको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरेको हो।

विश्वविद्यालय परीक्षा सञ्चालनका लागि कार्यविधि समेत मंगलबार सार्वजनिक गरेको छ। 

जसमा सेमेस्टर परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा 'टाइम बाउन्ड होम इक्ज्याम' विधिबाट सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ। परीक्षा असोजको पहिलो साताबाटै गराउने तयारी रहेको छ।

त्यस्तै वार्षिक तर्फका नियमित/आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षाबारे पछि निर्णय हुँदै जाने बताइएको छ।

के हो यो विधि?

‘टाइम बाउन्ड' एक्जाममा विश्वविद्यालयले कलेजहरुलाई जाँच हुनुभन्दा आधा घण्टा अगाडि प्रश्न पठाउँछ। कलेजले आफ्ना विद्यार्थीहरुको सबै आइडी मागेर पहिले नै तयारी गरिसकेको हुन्छ,’ भर्चुअल परीक्षाबारे विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डा सूर्यप्रसाद संग्रौलाले भने, ‘त्यसपछि दिएको निर्धारित समयसम्म विद्यार्थीले घरै बसेर लेख्छन्। त्यसपछि अन्तिमममा फेरि फोटोकपी स्क्यान गरेर कलेजमा पठाउँछन्। कलेजले फेरि फाइल बनाएर विश्वविद्यालयलाई तोकेको इमेलमा पठाउँछ। र बाँकी पुरानै प्रक्रियाले जान्छ।’

परीक्षा प्रविधिमा आधारित रहेर पहिलोपल्ट लिइँदै गरेको भएकाले सफलता असफलता हेरेर सच्याउँदै लैजाने परीक्षा नियन्त्रक संग्रौलाले बताए।

‘अहिले हामीले सेमेस्टरको रेगुलर विद्यार्थीलाई मात्र गराएका छौं। यो नयाँ प्रविधि अन्तर्गत गर्न खोजेको हो हामीले अब यसमा सफलता कति हात पर्ला। असजिला कति आउलान्? विद्यार्थी संघ संघठनहरुको कस्तो प्रतिक्रिया आउला? त्यो हेरेर विश्वविद्यालयले फेरि उचित निर्णय लिन्छ,’ संग्रौलाले भने।

के छ निर्देशिकामा?

परीक्षाको सम्बन्धमा विश्वविद्यालयले मंगलबार निर्देशिका जारी गरेको छ। जसमा क्याम्पस र विद्यार्थीका लागि नियम उल्लेख गरिएको छ।

क्याम्पसको सन्दर्भमा सात बुँदामा निर्देशन रहेको छ। जसमा क्याम्पस प्रमुखले तोकेको एक जना केन्द्राध्यक्ष रहने सहायक केन्द्रध्यक्ष, कर्मचारी र सहयोगी कर्मचारी रहनेछन्। परीक्षा व्यवस्थापन कार्यालयले उपलब्ध गराएको विद्यार्थीहरुको रजिस्ट्रेसन नम्बर, रोल नम्बर र आवश्यक निर्देशन परीक्षा सुरु हुनुभन्दा ५ दिन अगावै जानकारी गराउनु पर्ने निर्देशिकामा उल्लेख छ।

त्यस्तै परीक्षा सञ्चालनको ३० मिनेट पहिले परीक्षा व्यवस्थापन केन्द्राध्यक्षको आधिकारिक इमेलमा पठाउने र परीक्षाको १५ मिनेट अगाडि त्यसलाई विद्यार्थीको इमेल आइडीमा पठाउनु पर्ने उल्लेख छ। क्याम्पसले विद्यर्थीले पठाएको उत्तर पुस्तिकाका आधारमा हाजिरी विवरण तयार गर्नेछ।

अर्कोतर्फ विद्यार्थीका लागि पनि विश्वविद्यालयले ११ बुँदे गाइलाइन्स दिएको छ। जसमा परीक्षा दिनका लागि अनिवार्य व्यवस्थापन कार्यालयबाट रोल नम्बर प्राप्त गरेको हुनुपर्नेदेखि कम्तिमा परीक्षाको १० दिन अगाडि आफ्नो इमेल आइडी दिइसक्नुपर्ने लगायतका निर्देशन छन्।

त्यस्तै परीक्षामा हस्त लिखित कापीलाई मात्र मान्यता दिइने स्पष्ट पारिएको छ। विद्यार्थीहरुले टाइप गरेर परीक्षा दिन पाउने छैनन्। कारणवश यो परीक्षामा विद्यार्थी सहभागी हुन नसके अर्को परीक्षामा नियमित विद्यार्थी सरह सहभागी हुन पाउने उल्लेख छ।

त्यस्तै परीक्षा सकिएसँगै उत्तर पुस्तिकालाई स्क्यान गरेर इमेलमार्फत पठाउनु पर्नेछ। प्रयोगात्मक परीक्षा हालको अवस्था सामान्य  भएपछि मात्र सञ्चालन हुने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell