काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्।
संक्रमणपछि होम आइसोलेसनमा बसिरहेका मेयर शाक्यले मंगलवार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ। यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ। म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु।’
उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराएका छन्।
त्यसैगरी शाक्यले जारी गरेको विज्ञप्तिमा भदौ १४ गते आइतबार उनको धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुवै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि उनले उल्लेख गरेका छन। ‘चिकित्सकको सल्लाह अनुसार नै हामी दुबैले पीसीआर परीक्षणका लागि स्वाब दिएका थियौं। धर्मपत्नीको परीक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उनले भनेका छन्, ‘सोमबार अस्पतालबाट हामी दुबैको पीसीआर रिपोर्टबारे जानकारी प्राप्त भयो। अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो। धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ।’
उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराएका छन्। ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमै भनेका छन्, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु। होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पीसीआर परीक्षण गराउनु हुन पनि अनुरोध गरेका छन्।
उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरेका छन्। ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भनेका छन्।
