काठमाडौं : पछिल्लो २४ घण्टामा ५५ जिल्लामा कोभिड-१९ का संक्रमितको पहिचान भएको छ। कुल १२ हजार ८८ नमुना परीक्षणका क्रममा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। मंगलवार एक हजार ६९ जना कोभिड-१९ का संक्रमित पुष्टि भएसँगै नेपालमा हालसम्म ४० हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका मध्ये पछिल्लो २४ घण्टामा ७६८ जना डिस्चार्ज भएका छन्। हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भइसकेको प्रवक्ता गौतमले जानकारी दिए। यो कुल संक्रमितको ५५ प्रतिशत हो। हाल १८ हजार ११२ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये १० हजार ८३२ संस्थागत र ७ हजार २८० होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी काठमाडौं जिल्लामा छन्। काठमाडौं जिल्लामा ३९३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
वाग्मती प्रदेशका सबै १३ जिल्लामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका छन्। थप भएका कुल संक्रमितको ५३.६९ प्रतिशत वाग्मती प्रदेशका छन्। जसमध्ये ३६.७६ प्रतिशत काठमाडौं जिल्लाका मात्र छन्। त्यस्तै ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ का १२ जिल्ला मध्ये ११ जिल्लामा संक्रमित थपिएका छन्। रोल्पा बाहेकका ११ जिल्लाका १८० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये रुपन्देही जिल्लामा मात्र ९१ जना संक्रमित थपिएका छन्।
त्यस्तै सुदुरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित पहिचान भएका छन्। सुदुरपश्चिमका जिल्लाहरुमा ११५ संक्रमित थपिएका छन्। जसमध्ये बझाङका ४० जना रहेका छन्।
त्यस्तै प्रदेश १ का १४ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित थपिएका छन्। प्रदेश ११ मा ८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीका ५६ जना छन्।
त्यस्तै गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ६ जिल्लामा संक्रमित थपिएका छन्। गण्डकीमा लमजुङका ३२ जनासहित ६५ जना संक्रमित पहिचान भएका छन्।
त्यस्तै प्रदेश २ का सात जिल्लामा ४१ संक्रमित थपिएका छन्। संक्रमित थपिएका मध्ये सबैभन्दा बढी बाराका ११ जना छन्।
कर्णाली प्रदेशमा सबैभन्दा कम ४ जिल्लाका ६ जना संक्रमित पहिचान भएका छन्। १० जिल्ला रहेको कर्णालीमा जुम्ला र दैलेखमा २/२ तथा सुर्खेत तथा सल्यानका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
हाल संक्रमण पुष्टि भएका मध्ये १२७ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। जसमध्ये १७ जनालाई भेन्टिलेटरमा राखिएको छ।
हाल मोरङ, सुनुसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, रुपन्देही, चितवन र, ललितपुर गरी १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन्। भने सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा शून्य संक्रिय संक्रमित रहेका छन्।

