कैलाली: डोटीमा गरिएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित थप ३१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक दीपेन्द्रराज मिश्रले बताए।
पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार डोटीका २४ र अछामका ७ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर १ का २ पुरुष र केआईसिंह गाउँपालिका वडा नम्बर ४ का १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै अछामको रामारोशन गाउँपालिकाका २ महिला र २ पुरुष गरी ४ जना, बान्नीगढी जयगढ गाउँपालिकाका २ पुरुष र वडा नम्बर एकका १ पुरुषमा संक्रमण पुष्टि भएको छ।
