काठमाडौँ: चार महिना लामो लकडाउन अन्त्यसँगै कोभिड-१९ को संक्रमण थप उत्कर्षमा पुगेपछि हाल काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका गतिविधि निषेध छन्। तर, निषेधाज्ञाको अवधिमा नै कोभिड-१९ संक्रमण भयावह रुपले बढिरहेको छ। काठमाडौँ उपत्यका जोखिमको केन्द्रमा रुपान्तरण भएको छ।
उपत्यकामा भदौ ३ मा जारी गरिएको निषेधाज्ञापछि १४ दिनमा मात्रै ३ हजार ८६५ जना संक्रमित थपिए। जबकी नेपालमा कोभिड संक्रणमको पहिलो केस देखिएयताको ६ महिनासम्म उपत्यकामा जम्मा २ हजार ३४० जनामात्रै संक्रमित थिए। अहिले देशभर ४० हजार ५५२ संक्रमित छन्। २३९ जनाको मृत्यु भएको छ।
लकडाउन र निषेधाज्ञामै बढ्यो संक्रमण
पहिलो संक्रमित माघ ९ मा भेटिए। त्यसको ठीक दुई महिनापछि काठमाडौंमा दोस्रो संक्रमित पहिचान भएको थियो। चैत १० मा नयाँ केस फेला परेसँगै ११ गतेबाट लकडाउन सुरु भयो। लकडाउन गर्दा २ जनामात्रै संक्रमित थिए। विश्लेषकहरका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दिन दुई गुणा र रात चौगुणाका हिसाबले बढिरहेको छ।
चैत ११ देखि साउन ७ मा मात्रै १८ हजार ९२ संक्रमित थपिए। यही बेला ४२ जनाको मृत्यु भयो। लकडाउनकै बेला बढिरहेको संक्रमण लकडाउन हटाएपछि कम हुने कुरै थिएन। लकडाउन हटाएपछिको डेढ महिनामा (४३ दिनमा) २२ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भयो। मृत्यु हुनेको संख्या पनि यही बेला डरलाग्दो गरी बढिरहेको छ। यो अवधिमा १९७ जनाको मृत्यु भयो।
निषेधाज्ञाको दुई हप्तामा मात्रै ११ हजार ५९१ जनामा संक्रमण देखियो भने ११९ जना संक्रमितले ज्यान गुमाउनु पर्यो। भारतसँग सीमा जोडिएका जिल्ला हुँदै काठमाडौं उपत्यका पुगेको संक्रमण अहिले समुदायस्तरमै फैलिसकेको भए पनि सरकारले औपचारिक रुपमा समुदायमा संक्रमण भएको स्वीकारेको छैन। यद्यपि स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा जनस्वास्थ्य विद डा. सुरेश तिवारीले अब नेपालमा कोभिड १९ संक्रमण समुदायको चरणमा पुगेको दाबी गरेका छन्।
हाल ठूला शहरहरु नै कोरोनाको 'हटस्पट' बनेका छन्। लकडाउन खोलेपछि लगातार संक्रमणको ग्राफ उकालो लागेको काठमाडौं उपत्यका पछिल्ला दिनमा सबैभन्दा धेरै संक्रमित थपिने शहरमा परेको छ।
सरकारी रणनीति असफल
विज्ञहरुको अनुसार निषेधाज्ञाको नतिजा थाहा पाउन दुई हप्ता कुर्नुपर्ने हुन्छ। निषेधाज्ञाअघि नै संक्रमित भएको व्यक्तिमा पनि हप्ता दिनसम्म लक्षण देखिने वा लक्षण नदेखिएरै संक्रमित हुने सम्भावना उच्च हुन्छ। तर दुई हप्तामा पनि संक्रमितको संख्या घटेन भने भित्रभित्रै संक्रमण भइरहेको र निषेधाज्ञा असफल भएको मानिने जनस्वास्थ्य विदहरुको मत छ।
सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुन दुई हप्तामा पनि संक्रमण नघट्दा निषेधाज्ञाले संक्रमण घटाएको भन्न नमिल्ने तर्क गर्छन्।
'दुई हप्तामा पनि संक्रमितको संख्यामा कमी आएन भने भित्रभित्रै संक्रमण फैलिरहेको छ भन्ने हुन्छ,' उनले भने। नेपालमा हाल संक्रमित संख्या सरदर दैनिक हजार भन्दा धेरै छ। जबकी यो संख्या निषेधाज्ञाअघि हजारभन्दा कम थियो। मृतक संख्या पनि निषेधाज्ञाको बेला कमी आएको छैन। बरु दैनिक १० जनाको हाराहारीमा मृत्यु भइरहेको छ। सोमबार साँझसम्मको तथ्यांक अनुसार मृत्युदर ०.६ प्रतिशत छ। संक्रिय संक्रमण दर ४४.७ प्रतिशत छ।
किन असफल भयो लकडाउन र निषेधाज्ञा?
माइक्रोबायोलोजिष्ट डा. प्रकाश घिमिरेका अनुसार संक्रमण बढदै गएमा २१ दिनको लकडाउन वा निषेधाज्ञा संक्रमण घटाउन जरुरी हुन्छ। यही बेलामा सरकारले जनस्वास्थ्यका थप रणनीति बनाउन पर्ने उनको मत छ। जसले लकडाउन वा निषेधाज्ञा खोलेपछि ‘न्यू नर्मल’मा कसरी संक्रमण फैलिन नदिने भन्ने उपाए पनि तय गर्नुपर्ने हुन्छ।
तर नेपालका सन्दर्भमा भने सरकार यी सबै काम गर्न फेल भएको घिमिरेको आरोप छ।
'लकडाउनको अवधिभर पनि धेरै समय त पीसीआर की आरडीटी भन्नेमा समय गयो। त्यसपछि पनि खासै सरकारले संक्रमण रोक्नेबारे काम गरेन,' उनले भने।
संक्रमितको निगरानी गर्न चुक्दा आजको अवस्था आएको उनको बुझाइ छ। राम्रोसँग संक्रमितको ट्रेसिङ नभएकाले समुदायमा संक्रमण फैलिएको घिमिरेले दाबी गरे।
सुरुदेखि नै हरेक समुदायमा संक्रमित र संक्रमण नभएको मानिस छुट्याएर त्यही अनुसारको रणनीति अपनाएको भए समुदायमा संक्रमण फैलिने अवस्था नै नआउने उनको तर्क छ। उनी अहिले समुदायमा संक्रमण भुसको आगोसरी भित्रभित्रै सल्किरहेको तर्क गर्छन्।
'अहिले समुदायमा हो कि होइन भनेर बहस गर्नुपर्ने हो र? समुदायमा संक्रमण नभएर एकै परिवारका सबै संक्रमित कसरी भए?' उनको प्रश्न छ।
समुदायमा संक्रमण छैन भनेर सधैं सरकार चुप लागेर बसेमा नेपालले कोरोनाले ल्याउने स्थिति कल्पनाभन्दा बाहिरको हुने चेतावनी दिन्छन् उनी।
'हाम्रोमा कति स्वास्थ्य संस्थाको क्षमता बढ्यो त? बेडहरुको संख्या बढ्नु पर्ने थियो। अब बेड नै नभएर हो सरकारले अहिले घरमै बस भनेको, 'उनले भने।
'महिनौँ घरमा थुन्ने अनि एकैपटक बाहिर आउ भन्दा संक्रमण बढ्छ'
लामो समय लकडाउन भएपछि जनजीवन कष्टर बन्यो। मजदुर र न्यून आय भएका नागरिकले भोकभोकै बस्नुपर्ने अवस्था आएपछि सरकारमाथि लकडाउन खोल्नुपर्ने दबाब परेको थियो। १२० दिनको लकडाउन हटाए पनि सरकारले लकडाउन खोल्दा कस्तो मापदण्ड अपनाउने भन्ने प्रभावकारी रणनीति बनाउन सकेन।
त्यसको परीणामस्वरुप काठमाडौँ उपत्यकालगायत देशका धेरैजसो शहरी क्षेत्रमा निषेधाज्ञा लगाएर आउजाउ रोक्नु परिरहेको छ।
सरुवारोग विषेशज्ञ पुन यसैलाई सरकारको सबैभन्दा ठूलो कमजोरीका रुपमा अर्थ्याउँछन्। एकै पटक मानिसहरुको चहलपहल बढ्दा संक्रमणको दर बढेको उनको विश्लेषण छ।
'महिना दिनसम्म घरभित्र थुनियो। अनि एकैपटक आउ भनेपछि संक्रमण त बढिहाल्छ नि। यसलाई व्यवस्थित गरेर लैजानुपर्यो,' उनले भने,' फेरि निषेधाज्ञा हटाउँदा पनि सरकारले केही त गर्नुपर्ला नभए त एकै पटक भीडभाड बढछ।'
संक्रमित भन्दा मृत्युदर बढ्दा डराउनुपर्छ
माइक्रोबायोलोजिष्ट घिमिरे भने लकडाउन वा निषेधाज्ञा खोल्दा केही समयसम्म संक्रमित बढे पनि डराउन नपर्ने बताउँछन्। तर संक्रमितको संख्या बढ्दा राज्यले मृत्युदर घटाउन सकेन भने स्थिति नियन्त्रण बाहिर जाने खतरा हुनेसक्ने उनको तर्क छ। नेपालमा अहिले बढिरहेको मृत्युदर नियन्त्रण बाहिर जाने खतरा रहेको उनको दाबी छ।
'लकडाउन खोल्दा केही समयसम्म संक्रमित बढ्न सक्छन्। त्यसले त्यति धेरै हुँदैन। तर जब मृत्युदरलाई राज्यले कम गराउन सक्दैन त्यसपछि परिस्थिति सरकारको नियन्त्रणमा रहदैन्,' उनले भने। दीर्घ रोगी, बालबालिका र जेष्ठ नागरिक बचाउन रणनीति नै सरकारले नबनाएको उनको आरोप छ।
महामारीका बेला मृत्युको जोखिममा दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका नागरिक हुने भएकाले उनीहरुका लागि छुट्टै मापदण्ड बनाएर लागू गर्नुपर्ने उनको तर्क छ।