भक्तपुर : यी सडक छेउका सटरहरुमा जसरी ताल्चा लागेका छन् त्यसैगरी हात गोडा बाँधिएका छन् - उनीहरुको। जीवन नै एक हिसाबले निषेध बनेको छ। सटरमा ताल्चा झुन्डिए झै भौतिक रुपमा यिनीहरुका हातखुट्टा बाँधिएको त छैन, तर बाँधिएभन्दा फरक पनि छैन।
दैनिक काम अनि त्यसैबाट गुजारा। परिवार पाल्नुपर्ने बाध्यता पनि। लकडाउन होस् या निषेधाज्ञा यिनीहरुका लागि क्रुर बनेर शहरमा जारी छ। सरकारले निषेध गर्न जानेको छ तर यिनको पेट कसरी भरिएला सोच्न चाहिँ भुलिसकेको छ। त्यसैको मारमा यिनीहरु सुस्ताउन बाध्य छन्।
कोरोनाको कहर छ, काम कतै मिल्ने छाँट छैन। सितल खोज्नु र सुस्ताउनु दैनिकी बनेको छ। कोरोनाको त्रास अनि कामको आशमा यिनीहरु कुरिरहेका छन् त्यो दिन। जुन दिन उनीहरुले मनग्गे काम पाउँछन्, पेट भर्न कसैसामु दयाको भिख माग्नु पर्ने छैन। आफ्नै पौरखमा बाँच्नका लागि निषेधाज्ञाको प्रसव वेदनामा छट्पटाउनुको विकल्प छैन। यी दृष्यहरुले त्यही शब्द अभिव्यक्त गरिरहेका छन् -