PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एसिड आक्रमणमा परेकी मुस्कान खातुनले भेटिन् प्रधानमन्त्रीलाई



पहिलोपोस्ट

एसिड आक्रमणमा परेकी मुस्कान खातुनले भेटिन् प्रधानमन्त्रीलाई

काठमाडौं : एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन्।

मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुस्कानले प्रधानमन्त्री ओलीसँग आफूमाथि एसिड छ्याप्नेहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै कारवाहीको माग गरिन्।

मुस्कानको साथमा एसिड पीडितका लागि आवाज उठाउँदै आएका अभियन्‍ता उज्‍जव थापा, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, कान्तिपुर टिभीका कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरी, महान्यायाधिवक्ता अग्नी खरेल बालुवाटार पुगेका थिए।

मुस्कानमाथि एसिड आक्रमण गर्ने वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलमलाई धरौटीमा छोडिएपछि अभियन्ताहरुले कारवाहीको माग गर्दै अभियान चलाएका छन्। मुस्कानले अभियुक्तहरुको उमेर घटाएर नाबालक देखाइएको र यसकै आधारमा कोरोना महामारीको कारण देखाउँदै धरौटीमा छाडिएको भन्दै आक्रोश पोख्दै आएकी छन्। दोषीलाई जोगाउन खोजिएको उनको आशंका छ।

मुस्कानले प्रधानमन्त्री ओलीलाई यी कुराबारे जानकारी गराएकी छन्। अभियन्ताहरुले पनि दोषी उम्किन नदिन पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरे। उनीहरुले एसिड आक्रमणकारीलाई फाँसीको सजाय प्रावधान ल्याउन पनि माग गरेका थिए।

भेटमा प्रधानमन्त्री ओलीले दोषी उम्किन नपाउने प्रतिबद्धता जाहेर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले दोषीमाथि सख्त कारवाही गर्ने आश्वासन पनि दिए।

भेटमा ओलीले खातुनको स्वास्थ्य अवस्था, शिक्षाका बारेमा चासो राखेका थिए। खातुनको शिक्षाको जिम्मेवारी मुस्लिम आयोगका अध्यक्ष अन्सारीले लिएका छन्।

वीरगन्ज महानगरपालिका छपकैयाकी १५ वर्षीया मुस्कानमाथि एक वर्षअघि स्कुल जाने क्रममा एसिड प्रहार भएको थियो।

एसिड प्रहारपछि कीर्तिपुर अस्पतालको शय्याबाट मुस्कानले प्रधानमन्त्रीलाई पत्र लेखेर आफूमाथि एसिड प्रहार गर्नेलाई कडा सजायको माग गरेकी थिइन्।

सरकारले जीवनयापनका लागि मुस्कानलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell