PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

तापसीपछि रियाको पक्षमा विद्या बालन : भन्छिन्, 'मेरो मन दुखेको छ'



पहिलोपोस्ट

तापसीपछि रियाको पक्षमा विद्या बालन : भन्छिन्, 'मेरो मन दुखेको छ'

बलिउड अभिनेत्री विद्या बालनले सुशान्तसिंह राजपुत निधन प्रकरणमा मुख खोलेकी छन्। सुशान्त मुद्दामा अभियुक्त बनाइएकी प्रेमिका रिया चक्रवर्तीमाथि सीबीआईसहित तीन वटा निकायले छानविन गरिरहेका बेला विद्या उनको पक्षमा उभिएकी हुन्।

विद्याले आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रायलको विरोध गरेकी हुन्।

उनले ट्वीटरमा लेखेकी छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि हाम्रो प्रिय युवा स्टार सुशान्तसिंह राजपूतको निधन अब मिडिया सर्कस बनिसकेको छ। एक महिला हुनुको नाताले रिया चक्रवर्तीका बारेमा भइरहेका घटिया कुराहरुले मेरो मन दुखेको छ। के उनी तबसम्म निर्दोष हैनन् र जबसम्म दोषी साबित हुँदैनन्? वा फेरि उनी निर्दोष साबित नहुँदासम्म दोषी हुन्? आउनुस् कुनै नागरिकका लागि संवैधानिक अधिकारको लागि केही सम्मान देखाउनुस् र कानूनलाई आफ्नो काम गर्न दिनुस्।'

बलिउडमा सुरुमा कलाकार लक्ष्मी मान्चूले रियाको पक्षमा ट्वीट गर्दै मिडिया ट्रायलमाथि प्रश्न उठाएकी थिइन्। विद्याले लक्ष्मीको कुरामा समर्थन जनाउँदै रियाको पक्षमा बोलेकी हुन्।

यसअघि अभिनेत्री तापसी पन्नूले पनि लक्ष्मीको ट्वीटमा समर्थन जनाउँदै अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहर गर्नु कति सहि हो भनेर प्रश्न गरेकी थिइन्। उनले कानुनमाथि भरोसा राख्न पनि अपिल गरेकी थिइन्।

जुन १४ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेका सुशान्तको मुद्दामा सीबीआई, ईडी र एनसीबीले जाँच गरिरहेको छ। यो मुद्दामा सुशान्तका पिताले पटनामा रियासहित ६ जनाविरुद्ध उजुरी दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell