PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ज्यान मार्ने धम्की दिँदै लाखौं लुट, प्रहरीको फन्दामा परे पाँच जना, भेटियो पेस्तोल र गोली



अनन्तराज न्यौपाने

ज्यान मार्ने धम्की दिँदै लाखौं लुट, प्रहरीको फन्दामा परे पाँच जना, भेटियो पेस्तोल  र गोली

विराटनगर : उनीहरूले गत असार महिनामा विराटनगरका एक व्यापारीको मोबाइलमा म्यासेज गरी १० लाख रुपैयाँको माग गरे।

असार २५ गते राति ९ बजेर ५५ मा ९८४०…. नम्बरबाट आएको त्यो मागलाई व्यवसायीले त्यति वास्ता गरेनन्। तर, उनीहरूले छाडेनन् । दैनिक धम्की आउन थाल्यो। अन्ततः व्यवसायीले ५ लाख रुपैयाँ बुझाए।

अपराधीको यही समूहले गत साउन १३ गते राति साढे १० बजे सोही नम्बरबाट विराटनगरका अर्का व्यवसायीलाई फोन गरेर धम्की दिँदै १० लाख मागेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यही आपराधिक गिरोहले यही भदौ १५ गते विराटनगरको चाइना बजारका सञ्चालक रामनरेश शाहको घर फोरी ११ लाख चोरी गरी लगेको थियो।

यसरी सङ्गठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरूसित रकम असुल्ने गिरोहका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

उनीहरू व्यवसायी र अन्य व्यक्तिलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै समेत मार्ने र धाकधम्की दिई रकम असुल्ने तथा विराटनगर महानगर क्षेत्रमा चोरी र लुटपाट गर्ने काममा सक्रिय रहेको भन्ने मोरङ प्रहरीको दाबी छ।

प्रहरीले पीडितहरूको गोप्य सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा मङ्गलबार साँझ पाँचै जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मोरङको कटहरी गाउँपालिका वडा नं २ आदर्श टोलस्थित एलेक्स भन्ने रबिन शर्माको घरबाट पेस्तोल थान १ र गोली ३ थानसहित घटनामा संलग्न ५ जना व्यक्तिहरू विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत बिहार राज्य सीतामढी जिल्ला घर भई विराटनगर बजारमा रहेको चाइना बजारका कामदार वर्ष २७ का राजु साह, मोरङको कटहरी गाउँपालिका वडा नं २ आदर्शनगर बस्ने वर्ष २६ को किसन साह र कटहरीकै रबिन शर्मा छन्।

त्यस्तै, कटहरीकै वर्ष २७ का अभिषेक राय र जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को नन्दु भन्ने नन्दकिशोर साह पनि पक्राउ परेका छन्।

पक्राउ परेका नन्दकिशोरबाट छुट्टाछुट्टै राखिएका नगद ९७ हजार १ सय २०, भारु ४९ हजार ४ सय ५० र नेरु ९ हजार र ९ हजार २० रुपैयाँ पनि बरामद गरिएको छ।

त्यस्तै, विभिन्न कम्पनीका मोबाइल सेट १६ थान, कोटक महिन्द्रा नामको भारतीय बैङ्कको चेक २ थान, मोटरसाइकल ३ थान र चक्कू १ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

अभियुक्तहरूलाई हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान गरी कारबाही अगाडि बढाइएको डीएसपी राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell