भारत सरकारले खेलाडीहरुलाई सरकारी जागिरमा भर्नाका लागि दायरा बढाएको छ। भारतको कर्मचारी, जनगुनासो तथा उपदान मन्त्रालयले एक निर्देशन जारी गर्दै सी स्तरको सरकारी पदका लागि थप २० खेलका खेलाडीलाई सरकारी सेवामा प्रवेशका लागि सहज बनाउने उल्लेख गरेको छ।
यसअघि केन्द्र मातहतको खेल विभागले ग्रुप सी पदमा खेलाडीहरुको भर्तीका लागि ४३ खेलको सूचीबाट अझ खेलहरु थप्नु पर्न प्रस्तावपछि थप २० खेल समावेश गर्ने निर्णय भारत सरकारले गरेको हो।
‘खेल विभागको प्रस्ताव स्वीकार गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। यो निर्णयसँग ६३ खेलका खेलाडीहरुको सरकारी सेवामा प्रवेशको बाटो खुल्नेछ।
निर्देशनअनुसार ६३ खेलमध्ये कुनै पनि खेलमा देशबाट या राज्यबाट राष्ट्रिय या अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका खेलाडी नियुक्तिका लागि योग्य हुनेछन्। यसका लागि खेलाडी आफैले आवेदन दिनुपर्ने बताइएको छ। त्यसपछि पोस्टको हिसाबले खेलाडीको योग्यता, अनुभव, उमेरलगायतका विषयहरुलाई पनि हेरिने बताइएको छ।
See the list of sports disciplines which qualify meritorious sportspersons for consideration to group 'C' post under central Govt. https://t.co/rKPoLAUgnk pic.twitter.com/30qdRLqKGN
— Kiren Rijiju (@KirenRijiju) September 1, 2020
सरकारको यो निर्णयले खेलाडीहरुलाई खेल क्षेत्रमा रहँदा सुरक्षाको अनुभुति हुने विश्वास लिइएको छ। भारतीय खेल मन्त्री किरण रिजुले परम्परागत खेलहरुलाई पनि समावेश गर्दै दायरा बढाइएको उल्लेख गरेका छन्।
नयाँ थपिएका २० खेलहरुमा बेसबल, रग्बी, बास्केटबल, डीफ स्पोर्टस, मलाखम्ब, पारा स्पोर्टसलगायतका खेलहरु छन्। यसअघि क्रिकेट, फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङलगायतका ४३ खेल समावेश थिए।
