PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसान फिल्म फेस्टिभलको एसियन प्रोजेक्ट मार्केटमा



पहिलोपोस्ट

नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसान फिल्म फेस्टिभलको एसियन प्रोजेक्ट मार्केटमा

काठमाडौं : नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ। साल छनौट भएका २२ मध्य यो एक फिल्म हो।

फिल्ममा भुटानी निर्देशक टासी ग्याल्क्षेन र नेपाली निर्माता रामकृष्ण पोखरेलको सहकार्य रहनेछ।

एसियन प्रोजेक्ट मार्केट कोरियामा हरेक वर्ष हुने बुसान फिल्म फेस्टिभलको महत्वपूर्ण इभेन्ट हो। यो वर्ष  कोभिड-१९ प्रभावका कारण बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ भर्चुअल्ली हुँदैछ।

पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की  अवार्ड जित्न सफल भएको थियो।  बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन फिल्मलाई फेप्रिस्की अवार्ड दिइन्छ।

एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्‍याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका फिल्ममेकर छानिएका छन्। बुसानले भर्खरै जारी गरेको  एपीएमको लाइनअपमा कान्समा अवार्ड जितिसकेका निर्देशक पनि छन्।

एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रुपमै सम्पन्न हुने पोखरेलले जानकारी गराए। उनले एपीएम  एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्ने सवालमा  महत्वपूर्ण प्ल्याटफर्म रहँदै आएको बताए।

‘नेपाल जस्तो देशका लागि विश्व सिनेमामा उपस्थिति देखाउन एपीएम एकदमै राम्रो प्ल्याटफर्म हो। त्यसबाहेक युरोपमा प्रोड्युसिङ पार्टनर भेट्टाउनमा पनि यसले मद्दत गर्ला भन्ने अपेक्षा छ’, पोखरेलले भने।

‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमासँग बद्ला लिन उनलाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिडेको कथा प्रस्तुत गर्नेछ। पोखरेलले फिल्मको बजेट साढे तीन करोड हाराहारी रहेको दावी गरे।

पोखरेलले यसअघि ‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ आदि फिल्म बनाइसकेका छन्। जसमध्ये  ‘माउन्टेन टु क्लाइम्ब’ले नेपाललाई पहिलो पटक एम्मी अवार्ड जिताएको थियो भने पोखरेलले नै निर्माण गरेका लुघ फिल्म ‘झालो’ र ‘तातिनी पनि विश्वका धेरै फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell