PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अस्पतालको शहरमा उपचारका लागि भौतारिँदै मर्दै छन् बिरामी



विधुर ढकाल

अस्पतालको शहरमा उपचारका लागि भौतारिँदै मर्दै छन् बिरामी

काठमाडौं : मेडिकल सिटी भनेर चिनिने भरतपुरमा निजी अस्पतालको लापरवाहीका कारण मानिसहरुको ज्यान जान थालेको छ। अस्पतालमा उपचारका लागि जाने व्यक्तिलाई उपचार नगरी कोभिड-१९ को बहाना बनाएर भर्ना नलिँदा सोमवारमात्र तीन जनाले ज्यान गुमाएका छन्।

भरतपुर - ११ का ६५ वर्षीय पुरुष सुरुमा भरतपुरको एक निजी अस्पतालमा उपचारका लागि पुगे। चितवन अस्पतालमा पुगेका उनलाई एक्सरे गरेपछि कोभिड-१९ को आशंकामा उपचारका लागि भर्ना गर्न मानेन र भरतपुर अस्पताल पठायो। उनी दिउँसो २:३० बजे भरतपुर अस्पताल पुगे। अस्पतालको आकस्मिक कक्षमा उनको परीक्षण सुरु भयो। आधा घण्टामा नै उनको मृत्यु भयो। मृत्युपछि उनको स्वाब संकलन भयो।

त्यस्तै, खैरहनी-१३ की ५५ वर्षकी महिला दुई दिन देखि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएसँगै आफन्तहरुले एम्बुलेन्समा राखेर भरतपुरका दुवै मेडिकल कलेज पुर्‍याए। दुवै अस्पतालले भर्ना लिन मानेनन्। अन्तिममा उनलाई भरतपुर अस्पताल पुर्‍याइयो। बिहान ०७:०० बजे अस्पतालको आकास्मिक कक्षमा पुर्‍याइएकी उनलाई सोही कक्षमा राखेर उपचार सुरु भयो। उपचारकै क्रममा १:३० बजे मृत्यु भयो।

भरतपुर महानगरपालिका-११ की १८ वर्षीय किशोरीलाई पनि उनका आफन्तले उच्च ज्वरो आएपछि भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा उपचारका लागि पुर्‍याए। अस्पतालले उनलाई भर्ना लिन मानेन्। सामान्य परीक्षण गरेपछि उनलाई त्यहाँबाट सरकारी अस्पताल लैजान भनियो। श्वासप्रश्वासमा गम्भीर कठिनाई भइरहेको अवस्थामा उनलाई बिहानको ११:०० बजे भरतपुर अस्पतालको आकस्मिक विभागमा पुर्‍याइयो।

सोही विभागमा उपचार गर्दा गर्दै किशोरीको पनि ३:३० बजे मृत्यु भयो। यी तिनै वटा घटना सोमवारका हुन्। मेडिकल सिटीको रुपमा लिइने भरतपुर अस्पतालमा उपचार नपाएर बिरामीको मृत्यु भएका घटना नयाँ भने होइनन्।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीका अनुसार सोमवार मृत्यु भएका तीनै जनाको भरतपुर अस्पतालमा आइपुग्दा ज्यादै गम्भीर भइसकेको थियो। श्वासप्रश्वासमा धेरै कठिन र रगतमा अक्सिजनको मात्रा ज्यादै न्यून रहेको रहेका उनीहरुलाई तत्कालै आइसीयु भेन्टिलेटरमा राख्नुपर्थ्यो।

अस्पतालमा आइसीयू बेड र भेन्टिलेटर खाली नभएको कारण अन्य अस्पतालमा समन्वय गर्ने प्रयास भए पनि खाली नपाएपछि अस्पतालको आकस्मिक कक्षमै उपचार गरिएको डाक्टर तिवारीले बताए।

मृत्युपछि तीनै जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। निजी अस्पतालले समन्वय नगरी विरामीलाई रेफर गर्दा विरामीको ज्यान गएको डाक्टर तिवारीले बताउँछन्।

'यस्ता गम्भीर प्रकृतिका बिरामीहरु एउटा अस्पतालमा उपचारमा रहेको अवस्थामा विना जानकारी अन्यत्र रेफर गर्दा विरामीले समयमै उपचार नपाउनुका साथै अनावश्यक दुःख पाउने र विरामीको ज्यानसमेत जान सक्ने अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा प्रभावकारी समन्वय पश्चातमात्र विरामी रेफर गरिदिनुहुन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अनुरोध छ,' उनले भनेका छन्।

उनले सघन उपचार कक्षा खाली भएका अस्पतालले त्यस्ता जटिल अवस्थाका विरामीको उपचार गरिदिनुपर्ने बताउँछन्।

'हाम्रो आईसीयू खाली छैनन्। जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्‍यो। यस्तो अवस्थामा निजी अस्पतालले पनि जिम्मेवारीबाट पन्छन भएन,' उनले भने, 'खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्‍यो।'

भरतपुर अस्पतालका २० वटा आइसीयू कक्ष भरिएको उनले जानकारी दिए।

आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै बिहान मृत्यु भएको थियो। चितवनका अस्पतालको गेट गेटमा पुर्‍याइएका नवलपरासी पूर्वका एक पुरुषको समयमै उपचार नपाउँदा  मृत्यु भएको थियो। चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेजले उपचारका लागि भर्ना लिन मानेनन्। भरतपुर अस्पतालको आकाश्मिक कक्षमा उपचार गर्दा सुधार नआएपछि भेन्टिलेटरमा राख्नुपर्ने भन्दै भेन्टिलेटर भएको अस्पतालमा लैजान भनियो।

विरामीका आफन्तले पुन: चितवन मेडिकल कलेजमा पुर्‍याए। बल्लतल्ल अस्पतालले भित्र लैजान दियो। अस्पतालका निर्देशक दयाराम लम्सालले उनलाई आइसीयूमा राखेर भेन्टिलेटरको सहायतामा बचाउने कोसिस गर्दा पनि बचाउन सकिएन् भन्ने प्रतिक्रिया दिए। केही घण्टा अगाडिसम्म आइसीयू र भेन्टिलेटर छैन भनेर पन्छिएको अस्पतालले पछि भनसुन गरेपछि भेन्टिलेटरमा राख्यो। सुरुमै चितवन मेडिकल कलेज पुगेका उनलाई सुरुमै भर्ना गरिएको भए रातभर अस्पताल अस्पताल एम्वुलेन्समा चाहिरहनुपर्ने थिएन।

यसअघि कोभिड-१९ संक्रमणबाट भरतपुर अस्पतालमा मृत्यु भएका पहिला ब्यक्तिको हालत पनि उस्तै  थियो।

जेठ २७ गते कोभिड-१९ को संक्रमणबाट भरतपुरका ६८ वर्षका पुरुषको भरतपुर अस्पतालमा मृत्यु भयो। कोभिड-१९ संक्रमणबाट नेपालमा मृत्यु हुने १५ औं मृत्यु थियो त्यो।

भरतपुरको नारायणी सामुदायिक अस्पतालमा निमोनियाको उपचारका लागि अस्पतालको भेन्टिलेटरमा थिए ती पुरुष। १६ गते उनमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएसँगै अस्तालले रेफर गरिदियो।

भरतपुर अस्पतालले नमान्दा नमान्दै जबरजस्ती भरतपुर अस्पताल रेफर गरिएको थियो उनलाई। भरतपुरको त्यो संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तेस्रो घटना थियो। भेन्टिलेटरमा रहेका बिरामीलाई भेन्टिलेटरबाट निकालेर रातारात भरतपुर अस्पतालमा पुर्‍याइयो। त्यसको भोलिपल्ट उनको मृत्यु भयो।

अस्पतालहरुबीच समन्वय नहुँदा बिरामीको मृत्यु हुन पुगेको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी बताउँछन्।

बिरामीहरुको उपचारमा अस्पतालहरुबीच समन्वय हुनुपर्ने उनको भनाइ छ। 'बिरामीलाई कस्तो सुविधा आवश्यक पर्छ। त्यसको निर्क्यौल गरेर कहाँ पठाउने भन्ने अस्पताल अस्पतालबीच समन्वय हुनुपर्छ,' उनले भने।

चितवनका अस्पतालहरुमा १७६ आईसीयू र ५० भेन्टिलेटरको सुविधा रहेको तथ्यांक स्वास्थ्य कार्यालय चितवनसँग छ। जिल्लामा ५० शैय्या भन्दा माथिका १९ वट अस्पताल छन्। भरतपुर अस्पतालसँगै दुई मेडिकल कलेज रहेको र आइसीयू र भेन्टिलेटर पर्याप्त भए पनि निजी अस्पतालहरु पन्छिँदा बिरामीहरु उपचार नपाएरै मर्न बाध्य भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell