PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पुजारी हत्याकाण्ड : दुई जना पक्राउ, पैसा लेनदेनको विवादले हत्या गरेको स्वीकार



पहिलोपोस्ट

पुजारी हत्याकाण्ड : दुई जना पक्राउ, पैसा लेनदेनको विवादले हत्या गरेको स्वीकार

काठमाडौं : प्रहरीले पुजारी हत्याकाण्डमा सम्लग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोनाही नगरपालिका वडा नम्बर १ करुनिया बस्ने वर्ष ३६ का नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठेगाना भएका वर्ष २८ का बाल कुमार पटेल रहेका छन्।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खैमैया चौकस्थित हनुमान मन्दिरका पुजारीको हत्यामा उनीहरुको सम्लग्नता रहेको प्रहरीले बताएको छ। ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति साढे आठ बजे अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेका थिए।

राम नरेश र बाल कुमारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई नगरपालिका वडा नम्बर ७ वडकी बंकुल एरियाबाट बुधवार बिहान पक्राउ गरेको हो।

प्रहरीसँगको बयानमा उनीहरुले अपराध स्वीकार समेत गरेका छन्। अनुसन्धानबाट राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवतजावतलाई निगरानी गरेको खुल्न आएको छ। राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको उनको हत्या गरिएको खुलेको छ।

घटना हुनु भन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारीबीच विवाद समेत भएको प्रहरीले बताएको छ। गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेललगायत अन्य सँग धेरै पटक वादविवाद भएको थियो। मन्दिरको नजिकै तीनवटा रक्सीको पसल रहेको छ। अभियुक्तले पसलमा रक्सी खाएर होहल्ला गर्ने र मन्दीरमा आएर खुट्टा धुने जस्ता कार्य गरेकाले पुजारी र उनीहरु विच समय समयमा विवाद हुने गरको अनुसन्धानमा खुलेको छ।

गोली प्रहार गर्ने राम नरेश राउत पूर्वमाओवादीका लडाकु समेत भएको खुलेको छ। उनीबिरुद्ध रौतहटमा २०७१ अशोज १ गते सशस्त्र प्रहरी राजाराम माथि खुकुरी प्रहार गरेकोमा ज्यान मार्ने मुद्धा समेत रहेको प्रदेश नम्वर २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताव सिंहले जानकारी दिए।

यस घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell