PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बामदेवलाई फकाउने ओलीको प्रयास : प्रचण्डपछि गौतमसँग एक घण्टा छलफल



पहिलोपोस्ट

बामदेवलाई फकाउने ओलीको प्रयास : प्रचण्डपछि गौतमसँग एक घण्टा छलफल

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौमतमबीच भेटघाट भएको छ।

ओली र गौतमबीच बुधबार साँझ भेटघाट भएको स्रोतले जानकारी दियो। ओली र गौतमबीच एक घण्टा छलफल भएको हो।

त्यसअघि ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। नेकपा सचिवालय बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। गौतमको अडानको विषयमा सचिवालयमा नै छलफल गर्ने सहमति ओली प्रचण्डबीच भएको छ।

उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन्। तर, ओली अर्थमन्त्री डा.युवराज खतिवडालाई नै दोहोर्‍याउने पक्षमा छन्।

बुधबार साँझको भेटमा पनि ओलीले पुरानै कुरा दोहोर्‍याएका छन्। उनले प्रतिनिधि सभामा नै उठ्नका लागि आग्रह गरिएको बुझिएको छ। तथापि ओली र गौतमबीच कुनै सहमति हुन नसकेको स्रोतको दाबी छ।

अर्थमन्त्री खतिवडा सांसद भएको २० गते ६ महिना पुग्दैछ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ। उक्त पदमा गौतमलाई सिफारिस गरे खतिवडा मन्त्रीबाट बाहिरिनुपर्ने छ।

यसर्थ गौतमलाई फकाउने कसरतमा ओली लागेका छन्। केही दिनअघि भेटमा ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधि सभामा चुनाब लड्न आग्रह गरेका थिए। तर, गौतले राष्ट्रिय सभामा नै जाने इच्छा राखेका छन्।

केही दिन अघिको एक अन्तर्वार्तामा ओलीले गौतमलाई प्रतिनिधि सभाबाट चुनाव उठाउने सहमति भएपछि राष्ट्रिय सभामा जाने निर्णय कायम नरहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell