PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

जसपा एकताको चार महिना : केन्द्रीय कमिटी पूर्णता दिने तयारी, मंसिर मसान्तभित्र समायोजन सक्ने



कुञ्जरमणि भट्टराई

जसपा एकताको चार महिना : केन्द्रीय कमिटी पूर्णता दिने तयारी, मंसिर मसान्तभित्र समायोजन सक्ने

काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकता घोषणा गरेको चार महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिनेगरी गृहकार्य थालेको छ।

गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एकीकृत भएर बनेको जसपाले एक साताभित्रै केन्द्रीय कमिटीको पूर्णता र केन्द्रीय कार्यकारिणी समितिको कार्यविभाजन टुंग्याउन लागेको हो।

जसपा कार्यकारिणी समितिका सदस्य केशव झा भन्छन्, ‘५/७ दिनभित्रै ७०१ जनाको केन्द्रीय कमिटी गठन हुन्छ। त्यस्तै कार्यकारिणी समितिको कार्यविभाजन गर्नेगरी गृहकार्य भइरहेको छ।'

जसपाले अन्यौलबीच गत जेठ २५ निर्वाचन आयोगमा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष तथा अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेतासहित २२ जना केन्द्रीय सदस्य रहेको सूची बुझाएको थियो।

निर्वाचन आयोगबाट असार २८ गते दल दर्ताको प्रमाणपत्र पाएको जसपाले बल्ल एकता प्रक्रियाका कामलाई अघि बढाउन लागेको हो।

जसपाको गत साउनमा बसेको कार्यकारिणी बैठकले पार्टीका अध्यक्षद्वय ठाकुर, यादव र वरिष्ठ नेतात्रय राई, भट्टराई र महतोको समितिलाई कार्यकारिणी समितिको कार्यविभाजन गर्ने, केन्द्रीय कमिटी गठन गर्ने, समायोजन निर्देशिका तयार पार्ने र आचारसंहिता जारी गर्ने लगायतको जिम्मेवारी सुम्पिएको थियो।

उक्त ५ सदस्यीय समितिले समायोजन निर्देशिका तयार गरिसको र त्यसलाई जिल्लामा पठाइसकिएको नेता झाले जानकारी दिए।

‘केही दिनअघि नै समायोजन निर्देशिका जिल्लामा पठाइएको छ। कतिपय जिल्लाले त काम थालिसकेका छन्। त्यस्तै आचारसंहिता पनि तयार भइसकेको छ। पार्टीको विधान छाप्ने काम भएको छ,' उनले प्रगति सुनाए।

केन्द्रीय कमिटीमा समान हैसियत

केन्द्रीय कमिटीमा पूर्व राजपा र समाजवादीले बराबर हैसियत राख्ने भएका छन्। केन्द्रीय कमिटीमा दुवै पार्टीबाट ३५०-३५० जना रहेनेछन्। समाजवादीले भने आफ्नोतर्फबाट पदाधिकारी टुंग्याइसकेको छ। राजपाले भने टुंग्याउने गृहकार्य गरिरहेको छ। राजपाको ७ सय ९३ सदस्यीय केन्द्रीय कमिटी थियो। एकीकरणपछि ३ सय ५० जनामात्र कमिटी राख्नका लागि गृहकार्य गरिरहेको छ। राजपाका तत्कालीन ६ अध्यक्षमध्ये अनिलकुमार झा, राजकिशोर यादवले एकीकरण प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका थिए। सबैको भागबण्डा मिलाउँदा केही समय लागेको नेताहरु बताउँछन्। कोरोना संक्रमणका कारण एकता प्रकिया अघि बढाउन समय लागेको झाको दाबी छ।

मंसिर मसान्तमा समायोजन टुंग्याउने

जसपाले मंसिर मसान्तभित्र समायोजनका काम टुंग्याउने तयारी गरेको छ। जनता समाजवादी पार्टी समायोजन निर्देशिका २०७७ मा मंसिर मसान्तभित्र प्रदेश समिति तथा स्थानीय समितिहरू (जिल्ला, पालिका, वडा तथा प्रारम्भिक समिति) र भातृ- जनवर्गीय सङ्गठन समायोजन गरी पूर्णता दिने उल्लेख गरिएको छ।

‘समायोजन कार्य सामान्यतः २०७७ मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ। समायोजन कार्य सम्पन्न भएपश्चात यो निर्देशिका स्वतः निष्किय हुनेछ,' निर्देशिकामा भनिएको छ।

'एक व्यक्ति एक प्रमुख जिम्मेवारी'

जसपाले पद विभाजनमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीतिलाई प्राथमिकतामा राख्ने जनाएको छ।

‘समिति समायोजन गर्दा पार्टी विधानको धारा ५९ बमोजिम सामान्यतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति कार्यान्वयन गर्नु पर्नेछ। पदेन बाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिलाई आफू रहने समितिको छनोटको अवसर दिइनेछ,' समायोजन निर्देशिकामा भनिएको छ।

जसपाले नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य सङ्ख्या, मातहतका समिति, भातृ-जनवर्गीय सङ्गठन लगायतका सङ्गठनात्मक स्थिति, पछिल्लो निर्वाचनमा प्राप्त मत परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारितालाई मापदण्ड बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell