PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेकपा सचिवालय बैठक बस्दै : राष्ट्रिय सभामा गौतम कि खतिवडा?



कुञ्जरमणि भट्टराई

नेकपा सचिवालय बैठक बस्दै : राष्ट्रिय सभामा गौतम कि खतिवडा?

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको हो।

विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ‌ओलीलाई राहत पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेर नेकपाको पोलिटिकल कोर्सलाई टर्न गराएका उपाध्यक्ष वामदेव गौतमले एकाएक राष्ट्रियसभा सदस्यमा दावेदारी गरेपछि पार्टीभित्रको विवाद फेरि गिजोलिएको छ।

गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने माग तेर्स्याएका छन्। उनले आफू सरकारमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन्।

आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई लैजाने विषयमाथि छलफल हुनेछ। बुधवार बेलुकी प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा सचिवालय बैठकबाटै निष्कर्षमा पुग्ने सहमति भएको थियो। सचिवालयका अधिकांश सदस्यहरु गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने अडानमा छन्। तर, ओली भने रिक्त पदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडलाई दोहर्‍याउने पक्षमा छन्।

अर्थमन्त्री खतिवडा सांसद बिहीन भएको २० गते ६ महिना पुग्दैछ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ। उक्त पदमा गौतमलाई सिफारिस गरे खतिवडा सरकारबाट बाहिरिने छन्।

यसर्थ गौतमलाई फकाउने कसरतमा ओली लागेका हुन्। बुधवार साँझ पनि ओलीले गौतमसँग एक घण्टा छलफल गरेका थिए। केही दिनअघि भेटमा ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेका थिए। तर, गौतमले राष्ट्रिय सभामा नै जाने इच्छा राखेका छन्।

केही दिन अघिको एक अन्तर्वार्तामा ओलीले गौतमलाई प्रतिनिधिसभाबाट चुनाव उठाउने सहमति भएपछि राष्ट्रिय सभामा जाने विषयको च्याप्टर क्लोज भइसकेको बताएका थिए।

त्यसपछि गौतमले आफू राष्ट्रिय सभामा जाने घोषणा गरेका थिए। ओलीले गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा लैजाने विकल्पमा समेत छलफल गरिरहेको नेताहरु बताउँछन्।

त्यस्तै, आजको सचिवालय बैठकमा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell