PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

आजबाट फेरिएको मोडालिटी अनुसार निषेधाज्ञा, कति छ कडाई?



पहिलोपोस्ट

आजबाट फेरिएको मोडालिटी अनुसार निषेधाज्ञा, कति छ कडाई?

काठमाडौं : आजबाट काठमाडौं उपत्यकाभित्र दुई सातादेखि जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ। तेस्रो चरणको निषेधाज्ञा केही खुकुलो बनाइएको हो।

अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु,दूध,फलफलु,माछामासु, तरकारी बिक्री गर्ने समय बढाइएको छ। बिहान ९ बजेसम्मका लागि पसल संचालन गर्न दिइएकोमा आजबाट बिहान ११ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने छ। त्यस्तै निर्माण सम्वन्धि ढुवानीका सवारी साधनलाई पनि संचालन गर्न रोक लगाइने छैन।

बुधवार  काठमाडौं उपत्यकामा कायम रहेको निषेधाज्ञा अर्को एक साता थपिएको हो। थप भए अनुसार भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ।

यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ।

प्रशासनले टेक अवे सेवा संचालन गर्न स्वीकृति दिएको छ। तर, यसरी व्यवसाय संचालन गर्दा संलग्न व्यक्तिहरुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।

निषेध गरिएका सेवाहरु

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा सञ्चालन गर्न बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।

२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु एवं दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालवाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेश गर्न। यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिए बमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ।
४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न।

५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्ध जन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन/स्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने/आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला/जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न।

८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टयूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापार/व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न।

१२. होटेल, रेष्टुराँ सञ्चालन गर्न गराउन।

१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कारवाही हुनेछ।

सञ्चालन गर्न पाउने सेवाहरुः

१. अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने।

२. अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११:०० बजेसम्म खोल्न सकिने।

३. उपत्यका भित्र विकास निर्माण सँग सम्बन्धित पसल/व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २:०० बजेदेखि बेलुका ९:०० बजे सम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ।

१४. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ तर PCR परीक्षण सुविधा नभएको स्थानबाट यो प्रयोजनमा उपत्यका आउनु पर्ने व्यक्तिको हकमा काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ।

१५. माथि उल्लिखित व्यवस्थाका लागि सहजिकरण गरिएका सेवाहरु सञ्चालन गर्दा अनिवार्य रूपमा सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्नेछ। साथै अनिवार्य रुपमा नेपाल सरकार मन्त्रिपरिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न/गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ। सो को पालना नभएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ।

१६. माथि उल्लेखित क्रियाकलाप गर्दा/गराउँदा सम्बन्धित नियामक निकायले अनिवार्य रुपमा तोकिएको प्रोटोकल पालना भए/नभएको विषयमा अनुगमन गरी सो को प्रतिवेदन आआफ्नो तालुक निकायमा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हप्ताको दुई पटक उपलब्ध गराउनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell