PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केही दिनको योजनामा 'खुफिया' भेलापछि भएको थियो पुजारीको हत्या !



सविन ढकाल

केही दिनको योजनामा 'खुफिया' भेलापछि भएको थियो पुजारीको हत्या !

काठमाडौं : घटना भएको झन्डै दुई साता पछि प्रहरीले ६५ वर्षीय श्रीराम साहको हत्यामा संलग्न दुई जनालाई बुधवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्न दुई जनालाई बौधीमाई नगरपालिका वडा नम्बर ७ वडकी बंकुल एरियाबाट पक्राउ गर्न सफल भएको हो। उनीहरूले घटनामा आफूहरू संलग्न भएको स्वीकार गरिसकेको प्रहरीले दाबी गरेको छ।

पुजारी हत्याकाण्डमा गोनाही नगरपालिका वडा नम्बर १ करुनिया बस्ने वर्ष ३६ का नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठेगाना भएका वर्ष २८ का बाल कुमार पटेललाई  सार्वजनिक गरेको हो। ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति साढे आठ बजे उनीहरूले कन्चटमा गोली प्रहार गरी हत्या गरेका थिए।

गोली  राम नरेश राउतले चलाएको अनुसन्धानमा खुलेको छ। गोली प्रहार गर्ने राउत पूर्व माओवादीका लडाकु समेत भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए। मन्दिरको छाप्रोमा बसेर रोटी खाइरहेका पुजारीको कन्चटमा गोली लागेको थियो। गोली लागेका पुजारीको घटनास्थलमा नै मृत्यु भएको थियो।

'गोली प्रहार गर्ने राउत पूर्व माओवादी लडाकु हो। उनी केही आपराधिक समूहसँग पनि आबद्ध भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौँ,' डीआइजी सिंहले भने।                                               समातिएका दुई अभियुक्त

उनीहरूले योजनाबद्ध रूपमा पुजारीको हत्या गरेको देखिएको छ। आर्थिक, रिसइवी लगायतको कारणले केही व्यक्ति मिलेर पुजारीलाई मार्ने योजना बनाएको खुलेको हो। हत्याका लागि हतियारदेखि अन्य व्यवस्थापन समेत गरेको अनुसन्धानमा खुलेको छ। घटना भएको दिन पक्राउ परेका दुई जना र अन्य फरार अभियुक्तहरू एउटा घरमा बसेर पुजारीलाई मार्ने योजना बनाएका थिए। घटनास्थलबाट केही पर रहेको घरमा उनीहरूले योजना बनाएका थिए। पुजारीको हत्या अघि उनीहरुले रक्सी पिएका थिए। 

'यो एउटा योजनावद्ध घटना हो। आवेग र रिसले तत्कालै भएको देखिँदैन,' डीआइजी सिंहले भने।

योजनाअनुसार उनीहरूले घरबाट निस्किएपछि राउतले गोली प्रहार गर्ने र पटेलले मानिसको रेकी गरेको प्रहरीमा बयान दिएका छन्। घटना भएको स्थान गाउँबाट झन्डै एक किलोमिटरको दुरीमा रहेकाले मानिसको उपस्थिति भने कमै हुने गरेको छ।

अनुसन्धानबाट राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रही मानिसको आवतजावतलाई निगरानी गरेको खुल्न आएको छ। हत्याको एउटा कारण भने आर्थिक पाटो समेत रहेको प्रहरीले जानकारी दिएको छ। राम नरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको उनको हत्या गरिएको खुलेको छ। तर, उनीहरू बीच कति रकमको कारोबार भएको भन्ने खुलेको छैन। घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारीबीच विवाद समेत भएको प्रहरीले बताएको छ।                                            पुजारीको हत्या भएको घटनास्थल

गाउँमा विभिन्न विषयहरूमा छलफल हुँदा पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेललगायत अन्यसँग धेरै पटक वादविवाद भएको थियो।

मन्दिरको नजिकै तीन वटा रक्सीको पसल छ। अभियुक्तले पसलमा रक्सी खाएर होहल्ला गर्ने र मन्दिरमा आएर खुट्टा धुने जस्ता कार्य गरेकाले पुजारी र उनीहरू बीच समयसमयमा विवाद हुने गरेको अनुसन्धानमा खुलेको छ।

'आर्थिक लेनदेन र विभिन्न विषयमा पटकपटक विवाद भएको देखिन्छ। त्यही विवाद उत्कर्षमा पुगेपछि हत्याको योजना बनेको हो,' डीआइजी सिंहले भने।

उनीबिरुद्ध रौतहटमा २०७१ असोज १ गते एक सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेकोमा ज्यान मार्ने मुद्दा समेत रहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी सिंहले जानकारी दिए।

यस घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा देवाही गोदाही नगरपालिका १ वडाध्यक्ष शेख नरुल्लाहको समेत संलग्नता रहेको खुलेको छ। घटना संलग्नता देखिएका ३ जनाको खोजी भइरहेको छ।

'अहिलेसम्म केही संलग्न भएको खुलेको छ। अनुसन्धान हुँदैछ। हामी खोजी गरिरहेका छौँ,' डीआइजी सिंहले भने। पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको छ।

उनीहरू पक्राउ परेसँगै एउटा विषय भने टुङ्गो लागेको छ - घटना कुनै पनि धार्मिक र साम्प्रदायिक होइन। पुजारी लामो समयदेखि एक्लै बस्दै आएका थिए। उनी श्रीमतीको मृत्यु भइसकेको छ। छोराछोरी समेत छैनन्। आफ्नै आर्थिक सहयोगमा पुजारीले सरकारी जग्गामा हनुमानको मन्दिर बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell