काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा रुपन्देही सैनामैना-११ सालझण्डीका महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए।
बुधवार साँझ उच्च ज्वरोसहित स्वाशप्रस्वाशमा समस्या भएपछि अस्पताल भर्ना भएकी ७७ वर्षकी महिलाको बुधवार नै कोभिड-१९ को परीक्षण भएको थियो। संक्रमण पुष्टि भएसँगै उनको अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
कोभिड विशेष अस्पतालमा आइसीयू र भेन्टिलेटर खाली नहुँदा सामान्य आइसोलेसनमा राखेर उपचार हुँदै गर्दा बिहीवार बिहान ४:३० मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
रुपन्देहीमा प्रादेशिक अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसीयू छ। यी सबै संक्रमितले भरिएपछि उनलाई साधारण वार्डमा राखेर उपचार भइरहेको थियो।
यससँगै मृत्यु हुने रुपन्देहीका कोभिड-१९ संक्रुमितको संख्या ११ पुगेको छ भने लुम्विनी प्रादेशिक अस्पतालमा ११ जना संक्रमितको मृत्यु भएको छ।
