वीरगंज : तीन दिनअघि शुरु भएको प्लाज्मा थेरापी उपचार विधिबाट संक्रमितको उपचार भएसँगै त्यसको सकारात्मक नतिजा भेटिन थालेको छ।
सर्लाहीका संक्रमितको स्वास्थ्यमा सुधार हुन थालेपछि वीरगंजमा प्लाज्मा संकलन गर्न थालिएको छ। नारायणी अस्पतालमा 'प्लाज्मा स्टडी' समूहका चिकित्सकहरु, वीरगंज उद्योग वाणिज्य संघ, रक्त सञ्चार केन्द्र वीरगंज (ब्लड बैंक)को सक्रियतामा पहिलो पटक प्लाज्मा दान भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी गराए।
'हामीले सामाजिक सञ्जालको माध्यमबाट स्वस्थ तथा निको भएका संक्रमितलाई प्लाज्मा दान गर्न आह्वान गरेका थियौं,’ डाक्टर सिंहले भने, ‘निको भएकामध्ये ५ जनाले बिहीवार बिहान प्लाज्मा दान गरेका हुन्।'
एक साताअघि वीरगंजमा रक्तसञ्चार केन्द्र पर्साकै भवनमा छुटै प्लाज्मा बैंक स्थापना गरी प्लाज्मा दानको अभियान चलाइएको हो। रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेका अनुसार प्लाज्मा दान गर्नेमा वीरगंज ४ का वडा अध्यक्ष ५३ वर्षीय जगतप्रसाद साह कानु, सोही वडाका ३२ वर्षीय प्रवेश ढुङ्गेल र ३२ वर्षीय खुशीकान्त चौधरी, वीरगंज ११ श्रीपुर बस्ने ३२ वर्षीय पत्रकार सुरेश विडारी र नारायणी अस्पतालका डाक्टर ३४ वर्षीय प्रल्हाद अधिकारी रहेका छन्।
यसअघि प्लाज्मा थेरापीबाट उपचार गरिएको वीरगंजको पहिलो केसमा सकात्मक नतिजा आउनुका साथै ती संक्रमित कोरोनालाई जितेर घर फर्किने विश्वास व्यक्त गरिएको छ।