काठमाडौं : रुपन्देहीमा उपचारका क्रममा प्युठानका एक जना संक्रमितको मृत्यु भएको छ। प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षका पुरुषको बुधवार राती ९: १० बजे मृत्यु भएको हो।
बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
भदौ १० गते निमोनिया र लिभरमा समस्या देखिएपछि उपचारको अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य खराब हुँदै गएपछि आईसीयूमा भेन्टिलेटरमा राखि उपचार भइरहेको थियो। उनमा १६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि बिरामीको भेन्टिलेटरमै उपचार भईरहेको थियो।
यसैबीच सो अस्पतालमा हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ की ६४ वर्षिय कोभिड-१९ संक्रमित महिलाको पनि आईसियूमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
भदौ ४ गते अस्पताल भर्ना हुनुभएकी महिलामा उच्च रक्तचाप, सुगर, मृगौला र निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।
सो अस्पतालमा कार्यरत तीन जना चिकित्सकहरुसहित अन्य स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ।
