सुपरस्टार ड्वेन 'द रक' जोनसनको परिवारलाई नै कोभिड-१९ देखिएको छ। द रक, उनकी श्रीमती लाउरेन हासियन, ४ वर्षीया छोरी ज्यास्मिन र २ वर्षीया छोरी टियानामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। रेस्लिङ एवं फिल्म स्टार द रकले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएका हुन्।
एक भिडियोमार्फत् संक्रमण पुष्टि भए पछिको अवस्था साह्रै अप्ठ्यारो र चुनौतिपूर्ण भएको बताएका छन्। भनेका छन्,’कोरोना भाइरसको संक्रमण हुनु भनेको घाउ चोट लाग्नु वा शरीरको कुनै हड्डी भाँचिनुभन्दा बिल्कुल फरक रहेछ।‘ उनले हाल आफ्नो परिवारको सुरक्षा नै प्राथमिकतामा रहेको बताउँदै थपे,’संक्रमण मलाई मात्र भइदिएको भए हुन्थ्यो। तर त्यसो भएन। धन्न हामी सबै स्वस्थ छौं।‘
उनको दुई छोरीलाई चाहिं सुरुवाती दिनहरूमा घाँटी खस्खसाएको बताए। उनीहरू चाँडै ठीक भएर खेलेको हेर्ने इच्छा समेत व्यक्त गरे। हाल आफूहरूका लागि शुभचिन्तकको कामनाले अर्थ राख्ने बताएका छन्।
साथै उनले सबैलाई सुरक्षा उपकरणहरूको उचित प्रयोग गर्न सुझाव दिएका छन्। आफूहरूले घरमा बस्दा समेत मास्क लगाएको उदाहरण दिए।
भिडियोको क्याप्सनमा लेखेका छन् : संसारभरका सबैलाई मेरो सन्देश,‘अनुशासनमा रहनुस्। आफ्नो रोग प्रतिरोधक क्षमता बढाउनुस्। स्वस्थ रहनुस्। मास्क लगाउनुस्। परिवारलाई सुरक्षा दिनुस्। भेटघाटको नाममा भिडभाड नगर्नुस्। सकारात्मक रहनुस्। सबैका लागि सोचिदिनुस्।‘
