काठमाडौं : रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै युवाहरुले आज पुल्चोकमा प्रदर्शन गरेपछि प्रहरी नै के गर्ने भन्ने विषयमा अलमलमा परेका छन्।
कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका छन्।
काठमाडौं उपत्यकाभित्रका तिनवटै प्रशासन कार्यालयले भदौ २४ गते रातिसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको समयमा घरबाट निस्कन र कुनै पनि मेला पर्व समेत गर्नलाई रोक लगाएको छ। तर, बिहीवार पुल्चोकमा युवाहरुले रथ यात्रा गर्न समुहमा नै निस्किएपछि सडकमा खटिएका सुरक्षाकर्मी नै अलमलमा परेका छन्।
सानो समूहमा रहेका प्रहरी मुकदर्शक मात्र बनेका छन्। माथिल्लो निकायबाट कुनै पनि आदेश नआएकाले के गर्ने भन्ने अन्योलता देखिएको छ।
'हामी सम्बन्धित पक्षहरुसँग बैठक बसिरहेका छौं। केही समयमा केहि निर्णय आउँछ,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्ले भने।
