काठमाडौं : चितवनको भरतपुर अस्पतालले कोभिड-१९ संक्रमितको उपचारका लागि थप १०० शैय्या छुट्याएको छ।
अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसुबुक पेज मार्फत् यस्तो जानकारी गराएका हुन्। हाल अस्पतालले कोभिड-१९ डेडिकेटेड आईसीयू १० सहित ७५ शैय्या छुट्याएको छ।
अस्पतालमा संक्रमितको चाप बढ्दै गए पछि १७५ शैय्या कोभिड डेडिकेटेड गर्ने निर्णय भएको उनले जानकारी दिए।
आइतवारबाट सर्जरीका ३५, मेडिकल क्याविनका २४, अब्जर्भेसनका ३५ र आइसीयू ६ गरी १०० शैय्या थप गर्दै १६ आईसीयूसहित १७५ शैय्या कोभिड-१९ संक्रमितको उपचारका लागि छुट्याइएको डाक्टर अधिकारीले जानकारी दिए।
त्यस्तै, अस्पतालले संक्रमितको प्रसुती तथा शल्यक्रियाका लागि छुट्टै कक्ष, कोभिड ओटी तथा संक्रमित महिलाबाट जन्मिएका शिशु राख्नका लागि छुट्टै कक्ष व्यवस्थापन गरिने उनले जानकारी दिए।
त्यस्तै, हाल चिकित्सकहरुलाई होटलमा क्वारेन्टाइनमा राख्दै आएकोमा ४८ बेडको आफ्नै क्वारेन्टाइनको ब्यवस्थापन गर्ने निर्णय गरेको भएका छन्।
त्यस्तै, अस्पतालले प्लाज्मा थेरापी रेम्डिसिभर को प्रयोगबाट कोभिड-१९ का संक्रमितको उपचार गर्ने प्रक्रिया थालिएको उनले जानकारी दिए।
यसैबीच भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालामा अटोमेटिक आरएन एक्ट्र्याक्सन मेसिन ल्याउने पहल सुरु भएको बताए। त्यस्तै अस्पतालको प्रयोगशालामा नमुनाको ओभरलोड भएपछि नि:शुल्क परीक्षण गर्ने गरी चितवन मेडिकल कलेजमा नमुना पठाउन थालेको छ।
अध्यक्ष डाक्टर अधिकारीले सीएमसीको प्रतिवद्धता अनुरुप समन्वय गरेर भरतपुर अस्पतालमा ओभरलोड भएका नमुनाहरु सीएमसीमा पठाउन थालिएको जानकारी दिए।
कलेजले आवश्यक आरएनए एक्ट्र्याक्सन किट उपलब्ध गराए नि:शुल्क परीक्षण गर्ने प्रतिवद्धता जनाएको थियो। यसअघि भरतपुर कोभिड १९ प्रयोगशालामा नमुनाको चाप बढ्दै जाँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पताल पठाउँदै आएको थियो।
