PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई लगाएर सरकार मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ: कांग्रेस



पहिलोपोस्ट

निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई लगाएर सरकार मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ: कांग्रेस

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड १९ को संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको टिप्पणी गरेको छ।

कांग्रेसको कोभिड १९ अनुगमन समितिले बिहीवार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा गर्ने र हटाउने हचुवाको निर्णयले कोभिड महामारी नियन्त्रण नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

‘अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ। निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन। कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ,’ अनुगमन समितिका संयोजक एवं कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको समितिको ठहर छ।

समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको स्मरण गर्दै विज्ञप्तिमा भनेको छ, ‘तर सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन। हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं।’

समितिले तत्काल कोभिड १९ संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न पनि माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell