काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कोभिड महामारीको समयमा पुरानै ढर्रामा महाधिवेशन गर्न चुनौती रहेको बताएका छन्। उनले अहिलेकै स्थितिमा तोकएको मितिमा १४ औ महाधिवेशन सम्भव नभएको बताए। ‘यस्तै अवस्थामा फागुन त छोडिदिनुस भदौमा पनि महाधिवेशन हुँदैन,’ उनले भने।
‘कांग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु’ विषयक वेवनार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘तोकिएको समय फागुनमा महाधिवेशन गर्न सकिएन भने केन्द्रीय समितिको असफलता प्रमाणित हुनेछ। वैकल्पिक बाटोमा जानु सभापतिको पूर्ण असफलता हो। यो अवस्था आउन नदिन सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरु क्रियाशील हुन जरुरी छ।’
महाधिवेशनका लागि समायोजन र क्रियाशिलताका कुराहरुमा केन्द्रीय समिति, पार्टी जिल्ला समितिको तदारुकता कहिबाट नआएकोमा गगनले असन्तुष्टि व्यक्त गरे।
उनले महाधिवेशनको विश्वसनीयतामाथि पनि प्रश्न उठिरहेको भन्दै सभापतिले विश्वासको वातावरण बताउनुपर्ने बताए। ‘अधिवेशनको फेयरनेसमाथि प्रश्न उठेको छ। यो ठूलो कुरा हो। पछिल्ला निर्णयहरु, विभाग गठनहरुले प्रश्न उठेको हो,’ उनले भने, ‘यसअघि अधिवेशनमा अरु कुरा उठे पनि फेयरनेसमाथि चाहिँ उठेको थिएन। यसको जिम्मा पनि सभापतिले लिनुपर्छ। कहि कतै केही हुँदैन भनेर विश्वासको वातावरण दिलाउनुपर्छ।’
सरकारको निषेधाज्ञा र बन्दाबन्दीमा कांग्रेसको पूर्ण समर्थन रहेको बताउँदै थापाले सरकारको नियमका कारण महाधिवेश प्रभावित हुनसक्ने उनको भनाई छ।
‘अब आउने फागुन चैतमा पनि २०/२५ जनाभन्दा बढी मानिस भेला हुन पाउनेगरी सरकारले भीडभाड बन्द गरेकै हुन्छ। अर्को सालको भदौ असोजसम्म यो अवस्था हुन्छ,’ उनले भने, ‘एउटा जिल्ला अधिवेशनमा २ हजार २५ मान्छे जम्मा हुने कल्पना गर्न सकिन्न्। जुन फागुन चैतमा गरिसक्नु पर्यो। तब जेठमा महाधिवेशन हुनसक्छ।’
नेता थापाले महाधिवेशनको फर्म्याट नै बदल्न नेतृत्वलाई सुझाव दिए। ‘केन्द्रमा पनि महाधिवेशन एकै ठाउँमा गर्न सकिँदैन। जिल्लाको चुनाव पनि वडा तहमा बनाउनुपर्छ। अनलाइन, टोल र वडामा जानुपर्यो। भातृ संस्था, जनसम्पर्क संस्थाको बारेमा भाग लिने कुरा तुरुन्त अघि बढाउनुपर्छ,’ उनले भने, ‘महामारीमा सरकारलाई काम गर्नुपर्छ भनेको कांग्रेसले महामारीमा महाधिवेशन गरेर देखाउनुपर्छ। यसमा सभापतिको ठूलो इच्छा शक्ति चाहियो। विश्वासको संकटको सम्बोधन गर्नुपर्यो।’
