काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ४१३ नमुनाको परीक्षणका क्रममा देशभर ३९४ महिला र ८३४ पुरुष संक्रमित पहिचान भएका हुन्।
थप भएका एक हजार २२८ संक्रमित सहित नेपालमा हालसम्म ४२ हजार ८७७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमित कोभिड-१९ मुक्त भएर फर्किएका छन्। हालसम्म कुल संक्रमितको ५६ प्रतिशत अर्थात २४ हजार २०७ जना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा सबै भन्दा बढी बागमती प्रदेशका ११ जिल्लाका ५४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित मध्ये काठमाडौं जिल्लामा मात्र ३५७ जना रहेका छन्। त्यस्तै चितवनका ५६, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै प्रदेश २ का ७ जिल्लामा संक्रमित थपिएका छन्। सात जिल्लामा ३५९ जनामा संक्रमण पुष्टि हुँदा सर्लाही जिल्लाका मात्र १०९ जना रहेका छन्। त्यस्तै बाराका ७१, पर्साका ६५ र धनुषाका ६४ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश १ मा ८ जिल्लाका १०५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी मोरङका ४६ जना छन्। प्रदेश ५ मा १०३ जनामा संक्रमण पुष्टि भएको छ। १२ जिल्ला रहेको प्रदेशका ९ जिल्लामा संक्रमित थपिँदा सबैभन्दा बढी रुपन्देहीमा ५२ जना छ्न।
गण्डकी प्रदेशका ६ जिल्लामा ५५ जना संक्रमित थपिएका छन्। जसमध्ये कास्कीका ३१ जना छन्।
सुदुरपश्चिम प्रदेशमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमित थपिएका सात जिल्ला मध्ये कैलालीमा सबैभन्दा धेरै १७ जना छन्।
कर्णाली प्रदेशका पाँच जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।

