
विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा स्थानीय तहको सिफारिसमा निःशुल्क पीसीआर परीक्षण गराउने सर्वसाधारणले आफ्नोे रिपोर्ट लिन ७ दिन कुर्न थालेका छन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिन बिग्रिएर थन्किएपछि कोशी अस्पतालको प्रयोगशालामा मात्र परीक्षण गर्नुपर्दा रिपोर्ट आउन ढिलो भएको हो।
‘कोशी अस्पतालमा पीसीआर परीक्षणका २ वटा मेसिन छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले भने, ‘हामी दिनको ३ सयदेखि ५ सय वटा स्वाबको परीक्षण गर्न सक्छौँ तर प्रदेश प्रयोगशालामा परीक्षण बन्द भएपछि यहाँ स्वाबको थुप्रो लागेको छ।’
मेसु दासले बिहीवार साढे ४ बजे २ हजारभन्दा बढी स्वाब प्रयोगशालाको फ्रिजमा थन्किएको र तिनलाई पालैपालो परीक्षण गरिने जानकारी दिए।
उनले कोशी अस्पतालको प्रयोगशालामा झापा, इलाम, उदयपुर, सिरहा, सप्तरी र धनकुटादेखि स्वाब आउने गरेको स्पष्ट पारे।
‘परीक्षण ढिलो हुनुको कारण म्यानुअल प्रकारको एक्स्ट्रयाक्सन मेसिन भएर हो’, डाक्टर दासले भने, ‘एक हप्तापछि विराटनगर महानगरले प्रदान गर्ने भनेको अटोमेटिक एक्स्ट्रयाक्सन आइपुगेपछि दैनिक ७ सय ५० वटासम्म स्वाब परीक्षण गर्न सक्छौँ।’
उनले कोशी अस्पतालको प्रयोगशालामा अर्को अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन भए पनि ‘रिएजेन्ट’को अभावमा थन्किएको जानकारी दिए। प्रयोगशालामा ११ जनशक्तिको दरबन्दी भएको र त्यो अपुग भएको उनको भनाइ छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर जयवेन्द्र यादवले प्रयोगशालामा स्विट्जरल्यान्ड सरकारले दिएको ‘रोच’ कम्पनीको मेसिनमा प्रयोग हुने एक सानो उपकरण १० दिनअघि बिग्रिएको उल्लेख गरे। यसका कारण प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण बन्द गरिएको छ।
‘पीसीआर माइक्रोप्लेट ९६ को कभर गर्ने फ्वाइल नामको सामान बिग्रिएको छ’, निर्देशक यादवले पहिलोपोस्टलाई भने, ‘अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण त्यो सामान पनि आउन सकेको छैन। हामी सप्लायरको सम्पर्कमा छौँ। सप्लायरसित सामान छैन, अन्तर्राष्ट्रिय उडान नखुलेसम्म ल्याउन सकिन्न भनिरहेको छ।’
स्विस सरकारले प्रदेश नम्बर १ को सरकारलाई दिएका २ वटा पीसीआर मेसिनमध्ये एउटा मेची अस्पतालमा राखिएको छ। तर, त्यहाँको मेसिनमा पनि सामानको अभाव भएको बुझिएको छ।
मेची अस्पतालका सञ्चालक समितिका अध्यक्ष सोमनाथ पोर्तेलले पीसीआर माइक्रोप्लेट ९६ को कभर गर्न फ्वाइल भन्ने सामान नभएर मेसिन एक हप्तादेखि चल्न नसकेको जानकारी दिए।
ठूलाबडाको मात्र छिटो रिपोर्ट
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई गत सोमवार धनकुटाबाट फर्किएपछि सामान्य पखाला चल्यो। उनले शंका लागेर स्वाब परीक्षण गराए। उनको रिपोर्ट ३ घण्टाभित्रै आइपुग्यो।
मन्त्री घिमिरे मात्र नभई महानगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका मन्त्री र मन्त्रालयका अधिकारी तथा कोशी अस्पतालका मेसुका नजिकका व्यक्तिको रिपोर्ट २४ घण्टाभित्र अस्पतालले दिने गरेको छ। तर, सोर्सफोर्स नहुने सर्वसाधारणले सात–सात दिन कुर्नु पर्ने बाध्यता छ।
‘पीसीआर परीक्षणका लागि स्वाब दिएर दिनभरि बजारमा किनमेल गर्नेहरू थुप्रै देखिएका छन्’, विराटनगर–१० का पारस कोइरालाको प्रश्न छ, ‘उनीहरू साँच्चै संक्रमित रहेछन् भने कतिलाई सार्छन् होला?’
पारसका अनुसार पीसीआर रिपोर्ट नहेरी डाक्टरले अन्य कुनै पनि रोगका बिरामीलाई नहेर्ने चलन बढेको छ। यसले गर्दा साह्रै परेका बिरामी बिना उपचार मर्न थालेका छन्। एपेन्डिसाइटिस, पथरी जस्ता रोगमात्र नभई सामान्य पेट दुख्ने र ज्वरो आउनेको पनि पीसीआरको रिपोर्ट नभई उपचार हुन छाडेको छ।
पीसीआरमा भ्रष्टाचार छ : कांग्रेस
नेपाली कांग्रेसले पीसीआर परीक्षणमा सामाजिक विकास मन्त्रालयका अधिकारी, स्थानीय तह, प्रदेश प्रयोगशाला र कोशी अस्पतालले भ्रष्टाचार गरिरहेको आरोप लगाएको छ।
प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक केदार कार्कीले पीसीआर परीक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका हुन्।
‘केही दिनअघि बुढीगंगा गाउँपालिकाका अध्यक्षले आरती स्ट्रिप्स नामको कारखानाका मजदुरको पीसीआर परीक्षण गराउँदा भ्रष्टाचार गरेको समाचार आएको थियो’, सचेतक कार्कीले भने, ‘यो त एउटा प्रतिनिधि घटना हो। यस्ता घटना अनेकौँ छन्। पैसा तिर्नेको रिपोर्ट छिटो आउँछ। सर्वसाधारण संकटमा छन्।’