PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु



फूलमाया पुरी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेश नम्बर १ सप्तरी राजविराजका दुवै जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार ५५ र ५० वर्षका पुरुषको आज मृत्यु भएको हो। ५५ वर्षीय पुरुष गत भदौ ४ गते प्रतिष्ठानमा भर्ना भएका थिए। ती व्यक्तिमा रक्तअल्पता मधुमेहको समस्या नियन्त्रण हुन नसकेकाले छिन्नमस्ता अस्पताल सप्तरीले धरान रेफर गरेको थियो।

भदौ ४ गते भर्ना भएका उनमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखा परेपछि ८ गते प्रतिष्ठानकै कोभिड अस्पतालको आइसीयूमा उपचाररत उनको बिहीवार दिउँसो १:१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ती व्यक्तिमा विगत १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापको समस्या भएको पनि प्रतिष्ठानले बताएको छ।

त्यसैगरी, अर्का मृतक ५० वर्षीय पुरुष पनि सप्तरी राजविराजकै हुन्। उनमा ४ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समस्या र शरीर सिथिल हुने समस्या रहेको र सिकिस्त अवस्थामा अस्पताल आइपुगेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार मधुमेहका बिरामी ती व्यक्ति आजै दिउँसो १:२० मा अस्पतालको आपतकालिन सेवामा भर्ना भएका थिए भने २:०२ बजे नै उनको मृत्यु भएको छ।

अस्पतालको इमर्जेन्सीमा भर्ना भएका उनको तत्काल स्वाब संकलन गरीएको र पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका दुवैको नियम अनुसार शव व्यवस्थापन हुने प्रतिष्ठानले बताएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell