PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नेपाली सुरक्षाकर्मी लिपुलेकमा तैनाथ भएको भन्दै नयाँदिल्लीमा तरंग



कमलराज भट्ट

नेपाली सुरक्षाकर्मी लिपुलेकमा तैनाथ भएको भन्दै नयाँदिल्लीमा तरंग

काठमाडौं: सशस्त्र प्रहरी बल छाङरु बीओपीबाट भदौ ८ देखि ११ गतेसम्म कौवा, तिंकर भञ्याङको एक नम्बर पिल्लरसम्म लङ रुट पट्रोलिङ भयो। ५ हजार २ सय ६८ मिटर अग्लो उचाईमा छ, तिंकर भन्ज्याङ।

यहाँ जाने क्रममा माथिल्लो कौवामा भारतीय एसएसबी र सशस्त्रको टोली आमने सामने भए। प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र विष्टको नेतृत्वमा सेक्सन प्लस अर्थात १३ जनाको टोली लामो दुरीको फोर्स मार्चमा गएको थियो। कालापानी क्षेत्रमा दुबै सुरक्षाकर्मी आमने सामने भएपछि भारतीय सुरक्षाकर्मीले माथिल्लो निकायमा नेपाली सुरक्षाकर्मी लिपुलेकतिर जान लागेको रिपोर्टिङ गरे। लिपुलेकमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको र चिनियाँ सैनिकले पनि उपस्थिति बढाएको भनेर दावी गरिरहेको भारतले नेपालले पनि सुरक्षाकर्मी पठाएको सूचना सार्वजनिक गर्‍यो। भारतीय मिडियाले यसलाई बढाई चढाई गरेर लिपुलेकमा नेपालले ‘बटालियन’ तैनाथ गरेको समाचार सम्प्रेषण गरे। त्यो पनि भारतीय सेनामाथि निगरानी राख्न भनेर।

वास्तविकता चाहीँ के हो भने सशस्त्र प्रहरीको टोली तिंकर भञ्याङसम्म मात्रै तैनाथ छ। त्यहाँभन्दा अगाडि बढ्न न सरकारले अनुमति दिएको छ न त भारतीय सुरक्षाकर्मीले अगाडि बढ्न नै दिएका छन्। उनीहरुले त कालापानीस्थित सीमासम्म पनि जान दिएका छैनन्। दुई तीन किलोमिटर तल नै रोक्ने गरेका छन् नेपाली फौजलाई। लिपुलेक जाने दुबै बाटोमा हतियारसहित भारतीय सुरक्षाकर्मी तैनाथ छन्। यस्तो अवस्थामा त्यहाँ जानु भनेको मुठभेडको अवस्था निम्त्याउनु हो।

नेपाली सुरक्षाकर्मी ७ किलोमिटर वर नेपाल-चीन एक नम्बर सीमा पिल्लरसम्म मात्रै गएको कुरालाई आत्तिएर भारतीय मिडियाले लिपुलेकमै तैनाथ भएको उल्लेख गरेका छन्। तिंकरमा त पहिलेदेखि नेपाल प्रहरीको चौकी छ। अहिले सशस्त्र पनि त्यहाँ बस्छन्। तिकंर भञ्याङमा पनि गस्ती मात्रै हो। त्यहाँ बसेको हैन। तर भारतीय मिडियाले लिपुलेकमै भारतीय सेनामाथि निगरानी गर्न बटालियन तैनाथ भएको दावी गर्‍यो।   

भारतीय च्यानल आजतकले सशस्त्र प्रहरी बल ४४ नम्बर गणबाट लिपुलेकमा तैनाथ भएको उल्लेख गरेको छ। तर ४४ नम्बर गणका गणपति एसपी नरेन्द्र बमले आफूहरुको उपस्थिति एक नम्बर पिल्लरसम्म मात्रै भएको बताए। भदौ दोस्रो साता छाङरु बीओपीबाट तिंकर भञ्याङमा गस्ती भएको उनले जानकारी दिए।

तर भारतीय मिडियाले लिपुलेकमा भारतीय सेनाको सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न बटालियन नै तैनाथ गरेको भनेर गलत सूचना सम्प्रेषण गरेको छ। यसबाट के स्पष्ट हुन्छ भने अगुल्टोले हानेको कुकर विजुली चम्किँदा तर्सिन्छ भनेजस्तै आफ्नै भूमिमा सशस्त्र गस्तीमा जाँदा भारत तर्सिन्छ। यो चिन्ता तब हुन्छ जब अर्काको भूमिमा कब्जा गरेर बसिन्छ। 

भारतीय मिडियाले दार्चुला सदरमुकाम खलंगामा बसेको गणलाई गृहको निर्देशनमा लिपुलेकमा बसेको भनेर पनि दावी गरेको छ।

समाचारमा लिपुलेकमा नेपालमात्रै होइन चीनका १५० लाइट कम्बाइन्ड आर्म्स ब्रिगेडका जवान पनि तैनाथ रहेको दावी गरिएको छ। चीनले पछिल्लो महिना यी जवानहरु लिपुलेकबाट करीब १० किलोमिटरको दुरीमा पाला भन्ने इलाकामा परिचालन गरेको समाचारमा उल्लेख छ।

तिंकर भञ्याङसम्म गस्तीमा गएको नेपाली सुरक्षाकर्मीलाई लिपुलेकमा तैनाथ भयो भनेर झुठा प्रचार गर्ने भारतीय मिडियाको लिपुलेक पासमा चिनियाँ सेनाले उपस्थिति बढाएको, मानसरोवर किनारमा क्षेप्यास्त्र निर्माण गरिरहेको जस्ता खबरहरु पत्याउन गाह्रो छ।

भारतले आफ्नो नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरेको तथा लिपुलेक भएर मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भयो। नेपालले काउन्टर दिँदै तीनवटै भूमि समेटेर नक्सा जारी गरी निशाप छापका लागि संविधान संशोधन गरेपछि सिर्जित विवादलाई भारतीय मिडियाले झुठा प्रचार गरेर जनस्तर थप तनावको अवस्था पैदा गरे। त्यसयता झुठा समाचार पस्किँदै आएका भारतीय मिडिया अझै पनि नभएको कुरा लेखिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell