PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सुदूरपश्चिममा एक प्रहरीसहित थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा एक प्रहरीसहित थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी उप-महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्बर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, कैलालीको गोदावरीका ६ जना, लम्कीचुहाका पाँच जना, बर्दगोरीका चार जना, भजनीका दुई जना, मोहन्याल, जानकी र कैलारीका एक/एक जना, कञ्चनपुरको बेदकोटका एक जना र ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ४४ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका चार जना, अछामको मेल्लेख गाउँपालिकाका एक जना, चौरपाटी गाउँपालिकाका एक जना, बझाङको बुङ्गल नगरपालिकाका एक र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जना प्रहरीमा संक्रमण देखिएको हो।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा दुई सय १० जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको छ। अछामको चौरपाटी गाउँपालिका ४ की एक महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का एक/एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell