PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरोना भाइरसका कारण गण्डकी प्रदेशका तीन जनाको मृत्यु



पहिलोपोस्ट

कोरोना भाइरसका कारण गण्डकी प्रदेशका तीन जनाको मृत्यु

काठमाडौं : गण्डकी प्रदेशका तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुष, नवलपरासीको गैडाकोट वडा नम्बर २ का ३७ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका-१ की ९२ वर्षीय महिला रहेका छन्।

पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। उनलाई संक्रामक तथा सरुवा रोग अस्पताल, लेखनाथबाट बिहीवार बिहान ५:२० बजे रिफर गरिएको थियो। कोभिड-१९ उपचार केन्द्रको आइसीयू मा भर्ना गरी उपचाररत रहेकोमा उनको साँझ ५:५० बजे मृत्यु भएको प्रतिष्ठान निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए।।

त्यस्तै, गैडाकोटका पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी भदौ ९ गते अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्याका कारण अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्यमा थप जटिलता आएपछि १० गते कोरोना परीक्षण गर्दा पोजिटिभ आएको थियो। उपचारार्थ उनको बिहीवार २:२० बजे मृत्यु भएको अस्पताल निर्देशक दयाराम लम्सालले जानकारी दिए।

यसैगरी, तनहुँकी महिलाको बुधवार शसस्त्र प्रहरी अस्पताल, काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। उनी दम, मुटु तथा मृगौलाको उपचार गराइरहेकी थिइन्। उनको बिहीवार कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell