काठमाडौँ: रातो मछिन्द्रनाथ (बुंगद्य:) को रथयात्रा अन्तत: गर्ने निर्णय गरिएको छ। ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णयमा सरोकारवाला संस्थाहरु पुगेका हुन्।
रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको हो।
बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने निर्णय गरेको छ। यस्तै, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।
यसरी साइत हेरे पनि निस्किएको मिति (सम्भवत भाद्र २६ गते) मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्य: जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जनाएका छन्।
