PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोनामुक्त जनस्वास्थ्य प्रमुखको अनुभव : परिवार र समाजको माया नै कोरोनाविरुद्ध लड्ने हतियार



फूलमाया पुरी

कोरोनामुक्त जनस्वास्थ्य प्रमुखको अनुभव : परिवार र समाजको माया नै कोरोनाविरुद्ध लड्ने हतियार

विराटनगर : मोरङका जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत कोभिड-१९ व्यवस्थापनको मुख्य भूमिकामा थिए। उनको जिम्मेवारी थियो - जिल्लाभरका कोरोना संक्रमितहरुको अवस्था बुझ्न र व्यवस्थापन गर्न।

कोभिड उपचार केन्द्रहरुमा धाउनैपर्थ्यो।

यही क्रममा भदौ २ गते कोरोना संक्रमण भयो उनलाई।

जिल्ला जनस्वास्थ्य कार्यालयकै एक जना कर्मचारीलाई संक्रमण देखिएपछि भदौ १ गते बस्नेतलगायत कार्यालयका ४३ जनाको स्वाब संकलन भयो।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा भदौ २ गते बस्नेत र अर्का एक कर्मचारीको रिपोर्ट पोजेटिभ आयो।

बस्नेत कार्यालयले उपलब्ध गराएको क्वाटरमा आइसोलेट भए। रुघा र ज्वरो थियो उनलाई।

‘रिपोर्ट आउँदा र त्यसको दुइदिनसम्म त लक्षण पनि देखियो तर खानपानमा ध्यान दिएँ। उच्च मनोवलका साथ काममा लागें,’ उनले भने।

एक्लोपनले गाँज्दा पनि रोगले गाँज्ने मौका पाउँछ। तर बस्नेत बन्द कोठामा एक्लै बस्दा पनि व्यस्त भइरहे।

उनी भन्छन्, 'मेरो हकमा एक्लोपन महसुस फुर्सद नै मिलेन। भर्चुअल रुपमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यका लागि नै व्यस्त भएँ।'

के हुने हो कसो हुने हो? परिवार चिन्तित थिए। उनी आफैले सम्झाए परिवारलाई।

रोगविरुद्ध लड्न सहकर्मी, परिवार र आफन्तको महत्वपूर्ण भूमिका रहने उनी बताउँछन्।

'एक्लै भए पनि परिवार साथमै छ भन्ने महसुस गराउन सक्नुपर्छ,' उनले भने।

कोभिड उपचार केन्द्रमा पनि पारिवारिक वातावरण बनाउनुपर्ने उनको सुझाव छ।  

सेल्फ आइसोलेसनको १० दिनपछि पीसीआर परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। अर्थात उनी कोरोनामुक्त भए।

समाजको हेपाहा शैलीबाट बच्न मुश्किल

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र उपचारका भौतारिँदै नागरिकको ज्यान गएका विषयप्रति चिन्ता व्यक्त गरे उनले।

अहिलेको समयमा कोभिडसँग भन्दा पनि समाजको हेपाहा शैलीको दृष्टीकोणबाट बच्न मुस्किल रहेको उनले बताए।

'परिवार र समुदायले सहयोग नगर्ने हो भने भोलिका दिनमा स्वास्थ्यकर्मी जनताको सेवाबाट टाढिनुपर्ने अवस्था आउन सक्छ,' उनले भने, 'राज्य तहबाट पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्रोत साधनसहित सुरक्षित महसुस गराउन सकेको छैन।'

जनताकै सेवामा खटिएका र सेवाकै लागि ठडाइएका भवनहरुमा बिरामीले उपचारका लागि प्रवेश नै नपाउनु अत्यन्तै पीडादायक पक्ष रहेको बस्नेतको भनाई छ।

कोरोना संक्रमणलाई नै बाहाना बनाएर अहिलेको अवस्थामा हेयको दृष्टिकोण राखेर अस्पतालले बिरामीको उपचारबाट पन्छिन खोज्नु नमिल्ने उनी बताउँछन्।

‘आज नागरिक स्वास्थ्य भएर बाँचे त हो भोलिका दिनमा स्वास्थ्य संस्थाले सेवाका लागि अवसर पाउने,’ बस्नेतले भने।

त्यसैले साझेदार संस्था र  नीजि अस्पतालले आफ्नो सेवासँगै व्यवसायलाई अगाडि बढाउन ती कुरा पनि भुल्न नहुने उनको तर्क छ।

सरकारसँग साझेदारीमा चलेका र नीजि क्षेत्रका अस्पतालहरु आज सबै सरकारी पक्षको मात्रै जिम्मेवारी हो भन्ने जस्तै गरेको उनको आरोप छ।

त्यसो त नीजि अस्पताल र सरकार पक्षबीच समन्वय र सहकार्यमा कमजोरी पनि देख्छन् उनी।

‘म आफैं कोरोना भाइरसबाट संक्रमित भएपछि सबैबाट अलग्गै एक्लै बस्दा बारम्बार महसुस गरिरहेको छु,‘ उनले भने, ‘किनकी म राज्यकै संयन्त्रमा बसेर खटेर आफ्नो जिम्मेवारी पुरा गर्न लागि परिरहेको मान्छे नै भोलिका दिनमा समयमै उपचार नपाउने अवस्थामा पुग्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ।’

कोरोना संक्रमण तत्काल हल हुन सक्ने अवस्था नभएकाले यससँग भिड्दै अघि बढ्नुको विकल्प नरहेको बस्नेतको बुझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell