PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्फ्यु लगाइएको ललितपुरको एक फन्को : गौँडागौँडामा प्रहरी, सुनसान सडक

कर्फ्यु लगाइएको ललितपुरको एक फन्को : गौँडागौँडामा प्रहरी, सुनसान सडक

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : थापाथली पुल हुँदै ललितपुर प्रवेश गर्न सजिलो छैन। पुल वारी र पारी दुवैतिर बाक्लै छन्, प्रहरी। त्यही नै रोकिन्छन्, गाडीहरु। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा तेस्रो सातामा जारी छ। त्यसमाथि थपिएको हो, ललितपुरमा कर्फ्यु।

थापाथली पुलमात्र होइन, शुक्रवार बिहानैदेखि ललितपुर छिर्ने सबै नाका र गौडागौडामा सुरक्षाकर्मीको बाक्लो परिचालन छ। स्वास्थ्य सेवा, सुरक्षाकर्मी र संचारकर्मीका सवारीबाहेक सडकमा सुनसान छ। जे जति गाडी ललितपुरका शहरी क्षेत्रमा छिरेका छन् - ती सबैमा कडा चेक गरिएको छ।

थापाथलीको चेकिङ पार भएर पुलपारि पुग्दा फेरि चेकिङ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीको पालैपालो चेकिङले कर्फ्युको कडाई कति छ भन्ने देखाउँथ्यो।

घरबाट मानिसहरु बाहिर निस्किएका छैनन्। निस्किएका देखिनासाथ प्रहरी दौडिँदै उनीहरुलाई फर्काउन पुगिरहेका दृष्य सामान्य लागे। त्यस्तै बाटोमा खटिएका सुरक्षाकर्मीका गाडीले मानिसका गतिविधिलाई निगरानी गरिरहेको देखिन्थ्यो। कुनै पनि ठाउँ र मोडमा शंका लाग्नासाथ प्रहरीले सोधखोज गर्न र घरभित्रै पठाइहालेको देखियो।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम जिल्ला प्रशासन कार्यालयले कर्फ्युको आदेश गरेको हो। कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकार हुन्छ। कर्फ्युमा नेपाली सेनालाई समेत परिचालन गर्न सकिन्छ। तर, शुक्रवार जारी भएको ललितपुरको कर्फ्युमा भने नेपाली सेना खटिएको देखिँदैन। त्यसैले ललितपुरको कर्फ्यु २०६२/६३ सालमा देखिएको कर्फ्युको स्वरुपमा भने छैन। सेनाको सडकमा उपस्थिति शून्य नै देखियो।

बिहीवार दिउँसो मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। त्यही विषयलाई लिएर कर्फ्यु लगाइएको हो। मछिन्द्रनाथको रथ रहेको स्थान पुल्चोकमा सुरक्षा व्यवस्था झनै कडा बनाइएको छ। हिजोको झडपको 'इपिसेन्टर' रहेकाले पुल्चोकमा सबैभन्दा धेरै सुरक्षाकर्मी देखिए। बाटो पूर्ण रुपमा निषेध गरिएको छ। सुरक्षाकर्मीले दुईतिरबाट रथलाई घेरेर राखेका छन्।

संचारकर्मी तथा पत्रकारको भिड हुने तर्फ पनि सुरक्षाकर्मी सचेत देखिए। पुल्चोकबाट मंगलबजार जानेतिर करिब १ किलोमिटरको दुरीमा मीननाथको रथ रहेको छ। हिजो आन्दोलनकारीले रथलाई यहाँ पुर्‍याएका हुन्। त्यहाँ पनि सुरक्षा व्यवस्था कडा बनाइएको देखियो। रथलाई चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालेर बसेका छन्। गल्ली गल्लीमा प्रहरी तैनाथ गरिएको छ। मुलबाटो र भित्री गल्लीबाट मानिस बाहिर निस्किने सम्भावना छैन। कर्फ्युको यो स्थितिकै बीच मछिन्द्रनाथको क्षमा पूजा सुरु भएको छ।

ललितपुरबाट फेरि काठमाडौं फर्किँदा पनि दृष्य कर्फ्यु र निषेधाज्ञाबीचको अन्तर सजिलै महसुस हुन्छ। ललितपुर चकमन्न लाग्छ तर काठमाडौंमा गाडीको बाक्लै रफ्तार कायम छ। भलै निषेधाज्ञा जारी रहेको किन नहोस्।



ट्रेन्डिङ पोस्ट

Ncell