PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन बनाउने



अनन्तराज न्यौपाने

प्रदेश सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन बनाउने

विराटनगर : कोरोना भाइरसको बढ्दो सङ्क्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश नम्बर १ को सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीवार प्रदेश स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)–को भर्चुअल बैठकले विराटनगरमा कम्तीमा एक हजार शय्याको गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो।

सीसीएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार शय्या क्षमताको थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन गरेका छन्।

मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ। आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँगको समन्वय र साझेदारीमा सञ्चालन गरिने छ।

बैठकले  प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्यू आदिलाई क्रमशः हटाउँदै जाने, सङ्क्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्मक रूपमा अगाडि बढ्ने नीति लिएको छ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीका लागि तोकिएको प्रवेश विन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रङ्गेली मोरङ, टाँगनडुबा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको संयोजक सुवेदीले जानकारी दिए।

भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ शय्याको आइसोलेसन वार्ड सञ्चालन एवम् उदयपुरको नेत्र ज्योति सङ्घद्वारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ।

बैठकले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान, २०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको संयोजक सुवेदीले स्पष्ट पारे। तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell