PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

निषेधाज्ञाको ५० औँ दिन शुक्रवार आंशिक रुपमा खुले वीरगंजका पसल



राधेश्याम पटेल

निषेधाज्ञाको ५० औँ दिन शुक्रवार आंशिक रुपमा खुले वीरगंजका पसल

वीरगंज : वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागू भएको पचास दिनपछि बजार आंशिक रूपमा खुलेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १८ गते सूचना जारी गरी निषेधाज्ञा भदौ २५ गतेसम्म लम्ब्याउने निर्णय गर्नुका साथै शुक्रवारदेखि आंशिक बजार खोल्ने निर्णय गरेको थियो।

प्रशासनको निर्णय अनुसार शुक्रवार मुख्य सडकका पश्चिमतर्फ र पूर्व-पश्चिम सडकको उत्तरतर्फका पसलहरू सञ्चालनमा आयो। पश्चिम र उत्तरतर्फका सबैखाले पसल सञ्चालनमा आएका कारण अन्य दिनको तुलनामा आज वीरगंजमा भिडभाड देखिएको थियो।

यसअघि लकडाउन खुकुलो भएपछि बजारमा देखिने भिड भने आज भएन। वीरगंज उद्योग वाणिज्य संघले बिहीवार सवारीसाधनको प्रयोग नगरी तोकिएको समय र मापदण्ड पूरा गरी पसल सञ्चालन गर्न सूचना जारी गरेको थियो। शुक्रवार पसल सञ्चालन भएका क्षेत्रमा मोटरसाइकलहरू पार्किङ गरिएकोमा ट्राफिक प्रहरीले हेलमेट नियन्त्रणमा लिएको थियो।

ठूलो संख्यामा मोटरसाइकल बजारमा भएकाले नियन्त्रण गर्न नसकेको ट्राफिक प्रहरीले मोटरसाइकलमा रहेका हेलमेटहरू नियन्त्रणमा लिएको थियो। लामो समयपछि पसलहरू सञ्चालनमा आएपनि ग्राहकहरू थोरै मात्रामा देखिएका थिए। संक्रमण समुदायस्तरमा फैलिएका कारण अत्यावश्यक वस्तुहरूको खरिदमा मात्र मानिसहरूको रुचि देखियो।

सामाजिक दूरी कायम गरेर मास्कको प्रयोग गर्दै पसलहरू सञ्चालनमा आएका र ग्राहकहरू पनि सोही अनुसार देखिएका थिए। शनिवार सबै पसल बन्द हुने र आइतवार मुख्य सडकको पूर्व तथा पूर्व-पश्चिम सडकको दक्षिणतर्फका पसलहरू सञ्चालन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell