वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कोरोना सम्बन्धि तथ्यांकमा भदौ १८ गतेसम्म पर्सा जिल्लामा २ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। संक्रमितमध्ये १ हजार ८२२ जना पुरुष र ५२२ जना महिला छन्।
यसैगरी, हालसम्म २४ जना भारतीय, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी, १२० जना थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड, कार्यालय सहायक, ३ जना एम्बुलेन्स चालक छन्। अहिलेसम्म पर्सामा १ हजार ३२७ जना कोरोना जितेर घर फर्केका छन्।
बिहीवार मात्र ५४ जना संक्रमणमुक्त भएर घर फर्केको कार्यालयले जानकारी गराएको छ। अहिले आइसोलेसनमा ९२ जना सक्रिय संक्रमित छन्, जसमा २६ जना महिला छन्। यसैगरी, होम आइसोलेसनमा ९०४ जना रहेका र त्यसमा २१६ जना महिला छन्।
पर्साका क्वारेन्टाइनमा ६६ जना कोरोनाको संक्रमण भएको आशंका गरिएका छन्, जसमा ५ जना महिला छन्। बिहीवारसम्म २१ हजार २ सय १३ जनाको स्वाब संकलन भएको र ४०५ जनाको रिपोर्ट आउन बाँकी छ। बिहीवार ३७७ जनाको स्वाब संकलन गरिएको प्रशासन कार्यालयले जनाएको छ।
पर्सामा मात्र हालसम्म कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ। कोभिड विशेष अस्पताल गण्डकमा १३ जना महिलासहित ५५ जना भर्ना भएका र त्यसमध्ये ३ जना आइसीयूमा छन् भने वीरगंज हेल्थकेयरमा १३ जना महिलासहित ३७ जना र १३ जना आइसीयूमा छन्। गण्डक अस्पताल ७० शय्याको र वीरगंज हेल्थकेयर १२० शय्याको अस्पताल हो।
जिल्लाभर १ हजार २४४ शय्याको क्वारेन्टाइन रहेको र हाल विभिन्न स्थानमा ६८८ शय्याको सामुदायिक आइसोलेसन सञ्चालनमा रहेको छ। जसमा ३६२ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।
