काठमाडौं : चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी २० दिनपछि कोभिड-१९ संक्रमण मुक्त भएका छन्। शुक्रवार गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्केका छन्।
उनलाई अस्पतालका निमित्त मेसु डाक्टर जगन्नाथ तिवारी तथा कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले स्वागत गरेका छन्।
२० दिनमा कोभिड-१९ बाट संक्रमण मुक्त भएका चिकित्सक तिवारीले थप संक्रमितको सेवामा खटिने बताएका छन्।
अस्पतालको आइसोलेसन वार्डमा बसेर संक्रमण मुक्त भएका उनले सुरुको साता केही लक्षण देखिएपछि सामान्य रुघा खोकीको औषधी सेवन गरेपनि त्यसबाहेक अन्य कठिनाइ नभएको बताए।
कोभिड-१९ संक्रमणमुक्त भएर फर्किँदै गर्दा डाक्टर तिवारीले भरतपुर अस्पतालमा कोभिड-१९ संक्रमितको उपचारको सेवा विस्तार गर्दै जाने प्रतिवद्धता समेत जनाएका छन्। उनले स्वास्थ्य मन्त्रालयबाट तीन वटा भेन्टिलेटर सहयोग आइपुगेको भन्दै शनिवारबाट सञ्चालनमा आउने जानकारी दिए।
उनले भरतपुर अस्पतालका हालसम्म ३१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को संक्रमण भएको बताए।
यसैबीच, उनीसँगै अन्य पाँच जना स्वास्थ्यकर्मी पनि संक्रमण मुक्त भएका छन्।
अस्पतालकै स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल पनि शुक्रवार नै डिस्चार्ज भएका छन्।
संक्रमणमुक्त भएपछि डाक्टर पोखरेलले आफू छिट्टै काममा फर्किने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले संक्रमणसँगै लड्दा लड्दै पनि आफूले विरामीहरुलाई फोन म्यासेज तथा भिडियोकलबाट सेवा प्रदान गरेको बताउँदै थप उच्च मनोवलका साथ बिरामीको सेवामा लाग्ने प्रतिवद्धता जनाएका छन्।
