PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?



प्रकाश भण्डारी

को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बामदेवलाई राष्ट्रिय सभामा प्रवेशको अनुमति र अर्थमन्त्री डा. युवराज खतिवडालाई बिदाइ गरेसँगै हालका लागि साम्य भएको छ। फागुन १४ मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अस्वीकार गरेपछि गौतमले राष्ट्रिय सभामा इन्ट्री पाएनन्। पार्टीको विवाद पनि बल्झिँदै गयो।

अहिले खतिवाडालाई विस्थापित गर्दै गौतम राष्ट्रि सभामा प्रवेश गर्दैछन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी कमिटीका बैठकमा प्रधामन्त्री पदबाट राजीनामा मागेपछि ओली अप्ठेरोमा परेका थिए। लामो समयको रस्साकस्सीपछि प्रचण्ड-नेपाललाई मनाउन ओली सफल भएका छन्-पदको भागबण्डबाट।

यो सँगै उनले आफ्ना विश्वासपात्र खतिवडालाई समेत सरकारबाट बिदाइ गर्ने निर्णय गरे। ६ महिनाअघि नै खतिवडालाई नदोहोर्‍उन ओलीमाथि दबाब थियो। तर प्रधानमन्त्री ओलीले प्रमोसन गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्रीको पनि जिम्मेवारी थपे। अनिच्छाका बाबजुद अहिले भने ओलीले आफ्नै पद धरापमा पर्ने भएपछि बाध्य भएर खतिवडाको बिदाइ गरे। खतिवडा बाहिरिएसँगै नेकपाभित्र फेरि अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ।

को होला अर्थमन्त्री? विष्णु कि बामदेव

ओलीका विश्वासपत्र मध्येका एक हुन् पार्टी महासचिव विष्णु पौडेल। नेकपाभित्रको विवाद उत्कर्षमा पुग्ने बितिकै ओली मोर्चाको अग्रपंक्तिमा देखिने उनै पौडेल थिए। नेकपा विवाद मिलाउने कार्यदलको संयोजक पनि पौडेल नै रहे। अहिले पौडेल अर्थमन्त्री हुने चर्चा चलिरहेको छ। यसअघि ओलीको पहिलो कार्यकालमा समेत अर्थमन्त्री रहेका पौडेल फेरि अर्थमन्त्री हुने सम्भावना बलियो रहेको नेकपाका नेताहरुले बताएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पौडेल पनि चर्चामा रहेका मध्येको एक बलियो उम्मेद्वार भएको बताए। तर प्रधामन्त्रीले नै यसको निर्णय गर्ने भएकाले अन्तिम निर्णय भने भइनसकेको बताए। 'जो जो चर्चामा हुनुहुन्छ उहाँहरु मध्यको पौडेल पनि एक हुन्,' उनले भने।

तर ओलीले पार्टी सञ्चालनको जिम्मा प्रचण्डलाई दिने मनस्थित बनाएकाले उनले पार्टीमा आफ्नो पकड जमाइरहन पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना कम भएको प्रचण्ड निकट एक नेताले बताए। 'ओलीले अब पार्टी सञ्चालनको जिम्मा प्रचण्डलाई दिने भन्ने समझदारी भएको छ। त्यसैले उनले पौडेललाई तत्कालका लागि सरकारमा सामेल गर्दैनन्,' उनले भने।

अर्थमन्त्रीको लागि अर्को चर्चित पात्र हुन्, बामदेव गौतम। सरकारमा सहभागी गराउन सहमत भएरै ओलीले राष्ट्रिय सभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको ओली निकट नेताको भनाइ छ। उनका अनुसार नेकपाभित्रका आफ्ना विरोधी नेतालाई फकाउन पनि ओलीले बामदेवलाई नै उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनेछन्।

'अरु त्यस्तो तत्कालै अहिलको बेलामा अर्थमन्त्री बन्ने ढिपी पनि कसैले नगर्ला र बामदेवलाई बनाएमा प्रचण्ड-नेपाललाई मनाउन पनि सजिलो हुन्छ। त्यसैले ओलीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन्,' स्रोतले भन्यो।

'बामदेवको लचिलोपनले ओलीलाई सजिलो'

पार्टी विवाद चर्किएर ओलीको राजीनामा मागिएको वैशाख १७ को सचिवालय बैठकमा ओलीले सर्प्राइज दिए -बामदेवलाई प्रधामन्त्री बनाउने भन्दै। त्यसपछि नेकपाको विवाद मत्थर भयो केही समयका लागि, बामदेवले पनि कित्ता फेरे- ओली क्याम्पमा पुगे। उनले ओलीलाई सरकारमा बसिरहन सहयोग गरे।

तर ओलीको आश्वासन झुटो र आफू प्रधानमन्त्री हुन नसक्ने भन्ने थाहा पाएपछि भने उनले नै प्रचण्ड-नेपाल समूहमा ओलीको चर्को आलोचना गरे। साउन १३ मा भने बामदेव फेरि ओलीलाई नै काँध हाल्न पुगे। स्थायी कमिटी बैठकमा ६ बुँदे प्रस्ताव ल्याए। उनले ओलीलाई नै ५ वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए। त्यसैको परिणामस्वरुप त्यसै साँझ ओलीले र केही दिनपछि प्रचण्डले उनको घर पुगेका थिए। बामदेवको ६ बुँदे प्रस्तावपछि नेकपाको विवाद मत्थर भएको थियो। प्रचण्ड निकट एक नेताका अनुसार अहिले प्रचण्ड-नेपाल समूहले पनि गौतमलाई नै अर्थमन्त्री बनाउनुपर्ने भन्दै लबिङ थालेको छ।

अर्कोतिर ओलीले पनि गौतमको लचिलो हुने चरित्रका कारण अर्थमन्त्रीको जिम्मेवारी दिँदा आफूलाई सरकार सञ्चालनमा सहज हुने भन्दै अर्थमन्त्रीको जिम्मेवारी दिनेछन्। 'बामदेवको टिम होला काम गर्नका लागि र प्रधानमन्त्रीले उनी अर्थमन्त्री भएमा आफूलाई सजिलो हुन्छ भन्ने ठान्नुभएको होला। किनभने उनको चरित्र एकनासको छैन। कहिले कता कहिले कता हुने खालको छ। उनलाई आफ्नो पक्षमा लिन सजिलो हुन्छ भन्ने पनि हुनसक्छ प्रधामन्त्रीलाई, त्यसैले बामदेव अर्थमन्त्री हुन्छन्,' ती नेताले भने।

सुरेन्द्र पाण्डेको सम्भावना कम

अर्थमन्त्रको चर्चामा रहेका अर्का नेता हुन सुरेन्द्र पाण्डे। यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी निभाइसेका उनी हाल नेकपा विवाद समाधानका लागि गठित कार्यदलको सदस्य छन्। नेकपाभित्र अर्थबारे ज्ञान भएको नेता खोजी भएमा उनी पहिलो रोजाइमा पर्ने चर्चा भइरहेको छ। तर ओली तथा प्रचण्ड निकट नेताहरु ओली पाण्डेलाई अर्थमन्त्री बनाउन इच्छुक नभएको बताउँछन्। संसदीय दलका उपनेता नेम्वाङले हालका लागि उनको अर्थमन्त्रीमा सम्भावना कम भएको बताए। उनले अर्थमन्त्रीमा धेरैको नामबारे चर्चा भइरहेको भए पनि प्रधानमन्त्रीकै निर्णय अनुसार अर्थमन्त्री चयन हुने भएकाले तत्काललाई पाण्डेको सम्भावना कम भएको तर्क छ, नेम्वाङको। प्रचण्ड निकट एक नेता पनि अहिले पाण्डे अर्थमन्त्री हुने सम्भावना कम भएको बताउछन्। 'पाण्डेलाई ओलीले विश्वास पनि गर्दैनन् र प्रचण्ड-नेपालले पनि उनका लागि जोड गरेका छैनन्,' ती नेताले भने।

होलान् त प्रधामन्त्री आफै अर्थमन्त्री?

नेकपाभित्र ओलीले युवराज खतिवडालाई शक्तिशाली पद दिने चर्चा छ। उनलाई सल्लाहकार नियुक्त गर्ने र अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने सम्भावना रहेको बताइए पनि यसका लागि ओलीलाई सहज छैन। एकातिर विपक्षी नेतालाई खुसी पार्नुपर्ने छ भने अर्कोतिर सल्लाहकारमा भएका नेतालाई ब्यवस्थापन गर्नु चुनौती हुनेछ। अर्थमन्त्रीको जिम्मेवारी आफैँले सम्हालेमा बामदेवलाई कुन मन्त्री बनाउने भन्ने पनि ओलीका अगाडि चुनौती भएको प्रचण्ड निकट नेताको भनाइ छ। त्यसैले पनि खतिवडालाई सल्लाहकार बनाएर अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ राख्ने सम्भावना कम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell