PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मेस्सीमाथि विश्वको नजर : बार्सिलोनाबाट ‘रिलिज’ हुन सकेनन् फुटबलका 'लियो', निर्णायक क्षणमा बुबाको रोल



मुकुन्द घिमिरे

मेस्सीमाथि विश्वको नजर : बार्सिलोनाबाट ‘रिलिज’ हुन सकेनन् फुटबलका 'लियो', निर्णायक क्षणमा बुबाको रोल

पछिल्लो समय विश्व खेलकुदमा चासोको विषय बन्यो ‘ला लिगाबाट मेस्सीको बहिर्गमन’। स्पेनिस क्लब बार्सिलोनामा बस्न नचाएको स्पस्ट पारिसकेका मेस्सीको भविष्यलाई लिएर चासो विश्वभर देखियो।

मेस्सीले बार्सलोना ‘छोडे’ भनेर विश्वले नै मनस्थिति बनाइसकेको थियो। तर क्लबसँगको ‘रिलिज क्लज’को कारण देखाउँदै एक सिजनका लागि बार्सिलोनामै निर्न्तरता दिने पक्षमा पुगे मेस्सी।

बार्सिलोना छाड्ने उनको निर्णयसँगै पछिल्लो केही हप्तायता मेस्सी भित्र्याउन एकातिर क्लबहरुबीच तँछाड मछाड नै चल्यो भने अर्कोतिर मेस्सीलाई रोक्न हरसम्भव प्रयास गर्‍यो बार्सिलोनाले। मेस्सीलाई भित्र्याउन होडबाजी पनि राम्रै चल्यो। जसमा सबैभन्दा अगाडि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी देखियो। त्यस्तै पीएसजी, म्यानचेस्टर युनाइटेड, इन्टरमिनालगायत अर्जेन्टिनी क्लबहरु पनि उनलाई भित्र्याउन लागि लागिपरेका थिए।

च्याम्पियन्स लिगमा जर्मन क्लब वायर्न म्युनिखसँग ८-२ ले लज्जास्पद हार ब्यहोरेको १० दिनपछि मेस्सीले अघिल्लो मंगलबार ‘व्युरो फ्याक्स’ मार्फत् बार्सिलोनामा रहिरन अनिच्छा देखाएका थिए।

त्यसो त मेस्सीले बार्सिलोना छोड्छन् भन्ने हल्ला समयसमयमा चलिरहन्छ। त्यस्ता हल्ला केही दिन चल्छन् अनि फेरि सेलाउँछन्। यसपटक भने पहिला झै सेलाउने गरीको हल्ला जस्तो अवस्था थिएन। यतिसम्म भयो कि मेस्सीले टिमको प्रशिक्षण थाल्नका लागि बार्सिलोनाले कोरोना परीक्षण गराउँदा उनी अनुपस्थित रहे। उनको संकेत स्पस्ट थियो। आफ्नो निर्णयमा दृढ देखिए। तर मेस्सीको त्यो ‘स्टयान्ड’ १० दिनमा टुट्यो।

‘मेस्सीको बहिर्गमन’बारे चर्चा चल्दै गर्दा बार्सिलोनासँगको करारलाई लिएर उनको र क्लबको फरक फरक विश्ष्लेषणहरु आए। क्लब करार अझै नसकिएकाले मेस्सीले अभ्यासमा फर्कनु पर्ने तर्कमा दृढ रह्यो। मेस्सीले भने अनुबन्धन अनुसार सिजनको अन्त्यमा कुनै रकम नदिइ जान पाउने भन्दै आफ्नो कुरा बुझाउन हरसम्भव प्रयास गरे।

तर, बार्सिलोनाले करार अनुसार सिजनको अन्त्यमा बार्सिलोना छाड्ने प्रावधान जुनबाट सकिएको बतायो। र मेस्सीले सन् २०२१ सम्म आफ्नो अनुबन्धन पूरा गर्नुपर्ने तर्क अघि सार्‍यो क्लबले।

सँगसँगै बार्सिलोनाले स्पष्टरुपमा क्लबबाट जानका लागि सहयोग नगर्ने तर अनुबन्धन थप्नको लागि बातचित गर्ने बताइरह्यो। मेस्सी बाहिरिन खोज्दै गर्दा उल्टो बार्सिलोनाले २ वर्षको लागि अनुबन्धन थप्ने प्रस्ताब अघि बढायो।

यता मेस्सीको असमञ्जस्यतामा फस्दै गए। छोरालाई दुविधाको अवस्थाबाट निकाल्न मेस्सीका बुबा जर्ज मेस्सी समस्याको गाँठो फुकाउन लागिपरे। बार्सलोनाका उच्च अधिकारीहरु र अध्यक्षसँग भेटवार्ता गरे जर्जले।

बार्सिलोनाका अध्यक्ष जोसेफ बारटोम्युसँग जर्ज मेस्सीले डेड घण्टा लामो छलफल गरे पनि मेस्सी बार्सिलोनामा रहन धेरै कठिन भएको प्रतिकृया उनले दिएका थिए। यद्यपि, बारटोम्युसँगको छलफलमा एक वर्षका लागि मेस्सीलाई बार्सिलोनामा राख्न सकिने छलफल भएको तर्क एकथरी मिडियाले गरिरहेकै थिए जुन शुक्रवार बेलुकी सत्य सावित भयो।

क्लबसँगमात्र होइन ला लिगासँगै पनि ‘रिलिज क्लज’लाई लिएर दोहोरी चलिरहेको थियो। केही दिन अघि ला लिगाले बार्सिलोनालाई साथ दिँदै मेस्सी बाहिरिन चाहे ‘रिलिज क्लज’ तिर्नुपर्ने बताएको थियो।

शुक्रवारमात्र जर्ज मेस्सीले ला लिगाका अध्यक्ष जेभियर टेबासलाई पत्र पठाउँदै मेस्सी बाहिरिँदा पैसा तिर्न नपर्ने दाबी गरेका थिए।

‘हामीलाई थाहा छैन ला लिगा कुन अनुबन्धनको विश्लेषण गरिरहेको छ र के आधारमा गरिरहेको छ। केका आधारमा ‘टर्मिनेसन क्लज’ लागू हुन्छ?’ जर्जको पत्रमा भनिएको छ, ‘जबकी खेलाडीले सिजन सकिएसँगै करार टुंग्याउन सक्छ। यो ला लिगाको तर्फबाट स्पष्ट त्रुटि हो।’

मेस्सीले करारमा राखिएका अधिकारका आधारमा र ला लिगाको पक्षपात बिना हेर्ने हो भने ७०० मिलियनको क्लज नलाग्ने उनले तर्क गरेका छन्।

जसमा लालिगाले तुरुन्त उत्तर दिँदै पुरानै तर्क दोहोर्‍याएको थियो।

यसबीच फेरि मेस्सी बार्सिलोनामै बस्नसक्ने तर्कहरु मिडियामा आइरह्यो। शुक्रबार बेलुकी मेस्सीका बुवाले फ्याक्स गर्दै बार्सलोनामा मेस्सीले निरन्तरता दिने पक्का पक्की गरे।

‘मलाई लागेको थियो र म विश्वस्त पनि थिएँ कि म फ्रीमा बार्सलोना छोड्न सक्छु। अध्यक्षले पनि सिजन सकिएपछि छोड्न सक्ने बताउँदै आउनुभएको थियो,’ मेस्सीले भने, ‘अहिले उहाँहरुले मैले यो कुरा १० जुन अघि नभनेको भन्दै तर्क गर्नुभएको छ। जतिबेला हामी कोरोना भाइरसको महामारीका बीच प्रतिस्पर्धा गरिरहेका थियौं। र यसले सबै सिजननै प्रभावित बनाइदियो।’

मेस्सीले यही क्लजकै कारण पुन: क्लबमा नै फर्किएका हुन्।

उनले भनेका छन्, ‘यही कारण म क्लबमा निरन्तरता दिन गइरहेको छु। म क्लबबाट बाहिरिन ७०० मिलियन क्लज तिर्ने एउटै विकल्प हो भनेर अध्यक्षले भन्नु भएको छ। त्यो सम्भव छैन।’

हाल यो विवाद साम्य भएपनि दुवै पक्ष सहमतिमा नआएको भए यो कुरा विवादको निर्णय अदालतसम्म पुग्थ्यो। तर ‘रिलिज क्लज’ विवादलाई न त मेस्सी अदालतसम्म पुर्‍याउन चाहन्थे न त बार्सिलोना नै।

मेस्सी बस्दा बार्सिलोनालाई कति नाफा? कति घाटा?

विश्व फुटबलले अहिले फेरि मेस्सीलाई हेरिरहेको छ। उनको आगामी एक वर्षको करियरलाई हेरिरहनेछ। झन्डै २० वर्ष बार्सिलोनमा बिताएका उनी बार्सिलोनामा रहँदा क्लबलाई फाइदाको पाटोहरु त छँदैछन्।

सबैभन्दा मुख्य कुरा त बार्सिलोनामा उनको स्थान अहिले अद्वितिय छ। अघिल्लो सिजनमा ३१ गोल र २६ एसिस्ट गरेका उनमा टिम धेरै हदसम्म निर्भर देखिन्छ।

त्यस्तै क्लबको स्थायित्वमा पनि उनी बाहिरिँदा फरक पर्छ। एक त टिम भित्र, अर्को बोर्डमा पनि। अध्यक्ष बारटोम्यु अहिले संकटमा छन्। उनी मेस्सीलाई गुमाएर असफलताको धब्बा लगाउन चाहँदैनन्। जसले तत्कालीन र दीर्घकालीन रुपमा बार्सिलोनाको स्थायित्वमा प्रभाव पार्नेछ।

त्यस्तै मेस्सीले क्लब छाडेको खण्डमा ब्रान्डिङमा पनि असर पुग्नेछ। किनभने ब्रान्डहरु बार्सिलोनामा आकर्षित हुनुको कारण मेस्सी नै प्रमुख हुन्।

त्यस्तै पछिल्लो सिजन उपलब्धिबिहीन रहेको बार्सिलोनालाई आफू उठ्नका लागि पनि मेस्सीको आवश्यकता छ। ३३ वर्षे मेस्सी अझै पनि केहीवर्ष बार्सिलोनाका लागि कोषेढुंगा सावित हुने देखिन्छ।

यद्यपि, मेस्सी रहनुले बार्सलोनाको केही पक्षमा भने नोक्सानी पनि हुन सक्छ। उनी रहँदा सबैपक्षमा बार्सिलोनालाई फाइदै हुन्छ भन्ने चाहिँ होइन।

मेस्सी रहँदा बार्सिलोनालाई आर्थिक भारको कारण ट्रास्फर विन्डोमा प्रभाव पर्न सक्छ।

त्यस्तै अर्को महत्वपूर्ण कुरा भनेको मेस्सी बार्सिलोनामा रहँदा युवा खेलाडीहरु छायामा पर्नेछन्। मेस्सी सँधै चल्ने छैनन्। एकबिन्दुमा पुगेपछि उनी पनि रोकिने छन् जुन धेरै टाढा नहुन सक्छ। त्यतिबेला टिमलाई अघि बढाउने नयाँ र अनुभवी खेलाडीको कमी हुन सक्छ।

त्यस्तै मेस्सीको बार्सिलोनासँगको महत्वपूर्ण कडी भनेको फ्यानबेस हो। पटकपटक क्लब छोड्ने मनसाय बनाएका मेस्सीलाई राख्दा उनको व्यवाहारको असर फ्यानहरुमा पनि पर्न सक्छ र ड्रेसिङ रुममा पनि प्रभाव पर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell