ललितपुर : जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथ र मीननाथको रथयात्राका विषयमा कर्फ्यु नै लगाउन परे पनि त्यसलाई निरन्तरता भने दिन परेन। मच्छिन्द्रनाथको रथयात्राको विषयमा युवाहरु र प्रहरीबीच झडप भएपछि ललितपुरका शहरी क्षेत्रमा हिजो दिनभर कर्फ्यु थियो।
हिजै रथयात्रा पहिले झै हुन नसक्ने भन्दै क्षमा पूजासमेत गरिएको छ। आजबाट कर्फ्यु भने हटाइएको छ। तर, रातो मच्छिन्द्रनाथ र मीननाथको रथ रोकिएको स्थान लगायतका क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ।
प्रशासनले रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र -पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स अगाडिको चोक र उत्तरमा बखुण्डोल चोकमा हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको हो।
यस्तै, मीननाथको रथ रहेको क्षेत्र -पूर्वमा मंगलबजार चोक,पश्चिममा मदन स्मारक स्कुल, दक्षिणमा पूर्णचण्डी मन्दिर र उत्तरमा पिम वहालमा समेत भेला हुन रोक लगाएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम लगाइएको आदेश भाद्र २० गतेदेखि भाद्र २६ गतेसम्म लागू हुनेछ। बिहीबार बसेको सरोकारवालाहरुको बैठकले शुक्रबार क्षमा पूजा गर्दै भदौ २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने र साइत हेरेर निस्किएको मिति (सम्भवत भदौ २६ गते) मछिन्द्रनाथलाई बुंगमति लैजाने निर्णय गरेको थियो।
उक्त अवधिमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म यसरी भेला हुन प्रतिबन्ध लगाइएको हो। यसरी भेला भए कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन अनुसार कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुन सक्ने पर्याप्त आधार भएमा सो परिस्थितिलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
बिहीबार स्थानीयले रथ तानेर पुल्चोकबाट लबिम मल नजिकै पुर्याएका थिए। यस्तै, मीननाथको रथलाई भने टंगलबाट तानेर मंगलबजारभन्दा केही माथिसम्म पुर्याएका थिए। स्थानीयले रथ तान्न सुरु गरेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गर्दा दुवै पक्षबीच झडप भएको थियो। अवस्था नियन्त्रणबाट नजाओस् भन्दै स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति ११ बजेसम्म कर्फ्यू लगाएको थियो।
कर्फ्यू लगाएर शुक्रबार मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको थियो।

