वीरगंज : नारायणी अस्पताल वीरगंजमा शुक्रवार परीक्षण गरिएको ५ सय ८० नमुना परीक्षणमा जम्मा १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन्। २० देखि ६५ वर्ष उमेर समूहका १८ संक्रमितमध्ये ४ जना महिला र १४ जना पुरुष रहेका छन्।
पर्सा, बारा र रौतहटका कुल ५ सय ८० नमुनामध्ये पर्साका करिब २० प्रतिशत नमुनामध्ये १ सय १६ नमुना पर्सामा परीक्षण भएकोमा जम्मा ६ जना पोजिटिभ आएको नारायणी अस्पताल वीरगंजका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए। १८ जनामा सिटी भ्यालु २४ भन्दा माथि १० जना र सो भन्दा कम ८ जना रहेका छन्।
पर्साको पर्सागढी नगरपालिका ४ मा २० वर्षे महिला, ४४ वर्षका पुरुष, जसौलीका ३२ वर्षका पुरुष गरी ३ जना, नबिल बैंक वीरगंजका २६, ४५ वर्षका दुई महिला र २० वर्षका एक पुरुष गरी ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। जितपुर सैनिक ब्यारेकका ३ जना सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका ३ जना सुरक्षाकर्मी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कूल १२ जनामा कोरोना पुष्टि भएको छ।