PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हिजो मृत्यु, आज आयो पोजेटिभ रिपोर्ट, सँगै भर्ना भएका १० मध्ये तीन जना पनि संक्रमित



फूलमाया पुरी

हिजो मृत्यु, आज आयो पोजेटिभ रिपोर्ट, सँगै भर्ना भएका १० मध्ये तीन जना पनि  संक्रमित

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।

प्रवक्ता यादवका अनुसार ६५ वर्षीया महिलाको शुक्रवार साँझ करिब ७:३० बजे मृत्यु भएको हो। उनको पीसीआर परीक्षण भने शनिवार बिहान आएको हो।

शुक्रवार दिउँसो अस्पताल भएकी ती महिलामा श्वासप्रश्वासमा समस्या, ज्वरो र झाडापखालाको समस्या थियो। कोरोना संक्रमणको लक्षण देखिएकाले उनलाई तत्काल अस्पतालको आइसोलेसनमा राखी स्वाब संकलन गरिएको थियो।

‘अस्पतालमा भर्ना भएपछि हिजै स्वाब संकलन गरी पठाएका थियौं,’ प्रवक्ता डाक्टर यादवले भने, ‘मृत्यु पनि हिजै भयो। रिपोर्ट आज आयो।‘

उनको शव व्यवस्थापनका लागि सम्बन्धित निकायमा खबर गरिसकेको उनले बताए। ती महिलाको प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।

हिजोमात्रै मोरङ, उदयपुर, राजविराज लगायतका अन्य दश जना पनि हिजो कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। उनीहरु सबैको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पठाइएको थियो। ती मध्ये मृतक महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको पनि प्रवक्ता डाक्टर यादवले बताए।

संक्रमित चार जनामा एकको मृत्यु भएको, अर्का एक जनाको हिजै रिपोर्ट आएकाले कोभिड उपचार केन्द्र पठाइएको पनि उनले जानकारी दिए।

आज मात्र रिपोर्ट आएका थप दुइजनालाई पनि कोभिड उपचार केन्द्र पठाउने तयारी भइरहेको प्रवक्ता यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell