PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कैलालीमा स्थानीय संक्रमण बढ्दो, निषेधाज्ञा भने आजबाट खुकुलो



एम बम

कैलालीमा स्थानीय संक्रमण बढ्दो, निषेधाज्ञा भने आजबाट खुकुलो

कैलाली : कैलालीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा समेत फैलिँदै गएपछि गत १४ गतेबाट लागू गरिएको निषेधाज्ञा आजबाट खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले ३१ गतेसम्म रातीको समयमा पूर्ण निषेधाज्ञा गरिए पनि आजबाट दिउँसो भने खुकुलो पारिने जनाएको छ।

तर भाइरसको संक्रमण भने समुदायस्तरमा उकालो ग्राफमै छ। कैलालीको धनगढी उपमहानगरपालिकामा मात्रै हालसम्म दुई सय ८६ जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ। उनीहरु मध्ये एक सय १५ जना अर्थात कुल संक्रमितको झण्डै ४० प्रतिशत बाह्य ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी, संक्रमितका परिवारका सदस्य र केही सर्वसाधारण छन्। उपमहानगरका सबै वडामा कोरोना फैलिएको छ।

तर आजबाट निषेधाज्ञा भने खुकुलो हुने छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोरबिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ। सार्वजनिक सवारी साधनको हकमा एक लाईनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ।

खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गरी बिहान ५ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने हिडडुल गर्न पाइने छैन।

बैंक तथा वित्तिय संस्था (सहकारी बिमासहित) हरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गराई भीडभाड नहुने गरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell