PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, थपिए ५४ जना संक्रमित



फूलमाया पुरी

प्रदेश १ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, थपिए ५४ जना संक्रमित

विराटनगर : प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै मोरङका हुन्। शनिवार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १/१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ। जसमा प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् भने अन्य १२ जना प्रदेश १ बाहिरका हुन्।

प्रदेश १ मा शनिवार १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शनिवार संक्रमण देखिएकाहरुमा मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेका छन्। मन्त्रालयका अनुसार मोरङको विराटनगरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १/१ पुरुष र जहदाकी १ महिलामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै सुनसरीको इटहरीका २ महिला र ६ पुरुष तथा धरानका ४ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको हो। त्यसैगरी, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ। प्रदेश १ मा शनिवार १६ जना डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिवारसम्म ९७ हजार २ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell